बुढीगंगा नदिमा जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी अभ्यास

बुढीगंगा नदिमा जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी अभ्यास

सुशील भण्डारी ,अछाम : सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा नेपाली सेनाको अछाम जिल्ला स्थित  गोरखबक्स गणले अछामको बुढीगंगा नदिमा  संयुक्त अभ्यासमूलक अनुशिक्षण गरेको छ।

संयुक्त अभ्यासमूलक अनुशिक्षणमा जिल्ला प्रहरी कार्यालय अछाम सशस्त्र प्रहरी बल खप्तड गुल्म र नेपाल रेडक्रसको सहभागी रहेकोे थियो ।

मनसुनजन्य विपद् (बाढी र पहिरो) लाई लक्षित गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सम्पन्न गरिएको गोरखबक्स गण अछामका गणपति जनक सिलवालले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी पहिरोबाट हुने सम्भावित क्षति जोगाउन गरिने पूर्व तयारी तथा विपद् पछिको प्रतिकार्यका बारेमा अभ्यास केन्द्रित थियो। उनले अभ्यासमूलक अनुशिक्षणमा विपद् पछि सुरक्षाफौजबाट हुने खोजतलास तथा उद्धारका कार्यमा बढी समय दिइएको बताए।

विपद् प्रतिकार्यमा क्रममा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सक्रिय मनसुन अगावै विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न सञ्चालन गरिएको यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको संकेत दिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।
विगतका समयमा बाढी र पहिरोबाट यहाँ ठुलो जनधनको क्षति भएको र मनसुन पूर्णतया सक्रिय हुने समय भएको बेला यस्ता घटना विरुद्ध प्रतिकार्यका लागि तयारी अवस्थामा रहन संयुक्त अभ्यासमूलक अनुशिक्षण प्रभावकारी हुने उनले बताए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुवर,जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक ,सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक धनसिंह धामी ,राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख डिलबहादुर चौधरी लगायतको उपस्तिथि रहेको थियो ।

 

Leave a Reply