नेपाली सेनाको गोरखबक्स गणद्वारा अछाममा सुविधा सम्पन्न मलामी विश्राम घर निर्माण 

नेपाली सेनाको गोरखबक्स गणद्वारा अछाममा सुविधा सम्पन्न मलामी विश्राम घर निर्माण 
     सुशील भण्डारी,अछाम :
अछामको कमलबजार नगरपालिका -३ मा पर्ने बेलखेतमा
नेपाली सेनाले मलामी हरुका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ ।
नेपाली सेनाको अछाम जिल्ला स्थित गोरख बक्स गणले अछाम र दैलेख जिल्लाको सिमानामा रहेको बेलखेतमा  निर्माण गरेको मलामी विश्राम घरमा एक समारोहका  बीच नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
नेपाली सेनाको शीघ्र प्रभाव आयोजना अन्तर्गत स्थानीय स्तरमा जनताको आवश्यकता पहिचान गरि छोटो समय तथा योजना एवं थोरै बजेटमा धेरै भन्दा धेरै स्थानीय जनतालाई लाभान्वित हुने उद्धेश्य राखी नेपाली सेनाका विभिन्न स्थान विशेषका युनिटहरु संलग्न भई  विकास, निर्माण र सामाजकि सेवाका आयोजनाहरु संचालन गरिरहेको र सोही अनुरुप आवश्यकताको पहिचान गरि मलामी विश्राम घर  निर्माण गरिएको गोरख बक्स गण अछामका गणपति जनक सिलवालले जानकारी दिनुभयो ।
यस्ता खालका सामाजिक विकास निर्माणले सभ्य समाज निर्माणका लागि सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध  हुने सिलवालले बताउनुभयो ।  स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा नेपाली सेनाको सदैव सहयोग रहने समेत दाबी गर्नुभयो ।
मलामी विश्राम घर  संगै पक्की कम्पाउण्ड,आधुनिक शौचालय १ र  पिपल चौतारी निर्माणमा नेपाली सेनाको ७ लाख ५० हजार र कमलबजार नगरपालिकाले निर्माण सामाग्री सहयोग रहेको थियो ।
उक्त आयोजना  बाट कमलबजार नगरपालिकाका ६ वटा वडा र पञ्चदेवल बिनायकका ४ वडाका नागरिक लाभान्वित हुने कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनुभयो ।  अहिले मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा उक्त घरको दोस्रो तला थपेर    कृयापुत्री भवनका रुपमा बिकास गरिने  बताउनुभयो । साथै  कम समयमा सुविधा सम्पन्न मलामी विश्राम घर निर्माण गरेकोमा नगरपालिकाको तर्फबाट गोरख बक्स गण लाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
नेपाली सेनाले आफूलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दाहरुसंगको समन्वयमा आवश्यकतालाई पहिचान गरि महत्वपूर्ण आयोजना निर्माण गरेकोमा प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले धन्यवाद दिनुभयो ।
न्युन आकारको बजेटबाट अल्पकालीन समयमा नै कार्य सम्पन्न गर्ने हेतुले बनाइएका यस्ता आयोजनाहरुबाट दुरदराजमा रहेका स्थानीयहरु लाभान्वित हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
घर निर्माण भए संगै  बर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने स्थानीयले बताएका छन् ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्नु हुँदै
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवरले नेपाली सेनाले विभिन्न बेला बखतमा रचनात्मक तथा समाजिक विकासमा सहकार्य गर्दै आएको भन्दै प्रसंशा गर्नुभयो । सेनाले यहाँका नागरिकको समस्या लाई ध्यानमा राखेर महत्वपूर्ण कार्य गरेकोले सेना र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुँदै जाने बताउनुभयो । कार्यक्रममा पञ्चदेवल बिनायक नगरपालिका उपप्रमुख हर्क बहादुर रावल ,कमलबजार नगरपालिका उपप्रमुख शारदा कुवर, लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला हरुको उपस्थित रहेकोे थियो ।

Leave a Reply