कवि मनोज भण्डारीको शिखरिणी छन्दको कविता ः म तिम्रो हुन

कवि मनोज भण्डारीको शिखरिणी छन्दको कविता ः म तिम्रो हुन

बगैंचा गै हेरेँ कति कुसुम काँडा भइसके ।
नदीको छातीझैँ कति भ्रमर टाढा भइसके ।
छु बाँकी , के हाँसूँ ? फगत नसकेरै रुन पनि
तगारा गारा छन् प्रियतम! म तिम्रो हुन पनि
*
नहाँसेको यौटा कुसुमदल , मेरो मन पनि
नवैलेको काँडासरि छ प्रियको क्रन्दन पनि
म छोऊँ मैलेला डर छ , अघि सर्ने म कसरी
नछोऊँ वैलेला डर छ बिचरा जीवनभरि
*
नदीले ता रम्दै गिरिचरण चुम्दै बहनु हो ।
नदीले थर्काए पनि , गिरि नरोई सहनु हो ।
लडे थुम्का थुम्की पनि , सरितको भेल कति हो
नदी भागी टाढा , रुनु अब पहाडे नियति हो ।
*
तिमीले हाँसे पो कमलवन खुल्थ्यो मुसुमुसु
तिमीले हाँसे पो रवि र शशि जल्थे खुसुखुसु
कुनै बाँकी छाया पनि अब पधेँरातिर छुटे
तिमी रोयौ मेरा दृग पनि अँधेरातिर छुटे
*
पखेटा काटिन्छन् तर पनि सुसेल्छन् खगहरू
कुँजा छन् , बोल्दैनन् र पनि हरिया छन् नगहरू
तिमी हामी हाँस्दा यदि पिर नआए अलिअलि
खुसी बुझ्ने कैले , भन न भन मेरी मनकली

Leave a Reply