इजरायल-हमास युद्धविराम सहमति

इजरायल-हमास युद्धविराम सहमति

काठमाडौँ — कञ्चनपुर भीमदत्त नगरपालिका–३ का महानन्द र पद्माले छोरा विपिन जोशीको बाटो कुरेकै ४७ दिन भयो । विपिन प्यालेस्टिनी लडाकु समूह हमासद्वारा असोज २० देखि बन्धक बनाइएका छन् ।

कतार, इजिप्ट र अमेरिकाको पहलमा इजरायल र हमासबीच कम्तीमा चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई छोड्ने प्रक्रिया अघि बढेसँगै विपिन पनि छिट्टै सकुशल फर्कनेमा जोशी परिवारको आशा जागेको छ ।

इजरायलको मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले युद्धविरामसँगै बन्धकलाई रिहाइ गर्ने प्रक्रियासम्बन्धी प्रस्ताव पारित गरेको छ । जसअन्तर्गत पहिलो चरणमा कम्तीमा ५० जनालाई हमासले छाड्ने उल्लेख छ । जसमा बालबालिका र महिलालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

हमासको नियन्त्रणबाट मुक्त हुने एक सय जना इजरायली बन्धकहरूको सूचीमा विपिन समावेश भए/नभएको भने सार्वजनिक गरिएको छैन । हमासद्वारा बनाइएका बन्धकलाई कम्तीमा १० जनाका दरले चार चरणमा गरी इजरायली सेनालाई बुझाइनेछ । बदलामा इजरायलले पनि १ सय ५० जना प्यालेस्टिनी कैदीलाई रिहाइ गर्नेछ । पहिलो चरणको रिहाइ प्रक्रिया पूरा गर्न कम्तीमा चार दिनको युद्धविराम हुने इजरायल प्रधानमन्त्री कार्यालयका प्रवक्ता एलोन लेभीले बताए ।

विपिनको रिहाइका लागि नेपालले कतारको साथ खोजिरहेको छ । तेल अभिभस्थित नेपाली दूतावासले भने विपिन दोस्रो चरणमा रिहाइ हुन सक्ने जनाएको छ । कञ्चनपुरमा रहेका विपिनका बुबाआमा भने युद्धविरामको खबरले छोरा सकुशल रिहाइ हुनेमा आशावादी छन् । बुबा महानन्दले भने, ‘छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौं ।’

त्यसैगरी दोस्रो चरणमा ५० जना इजरायली बन्धकलाई छाडेमा त्यसको बदलामा थप १ सय ५० जना प्यालेस्टिनी कैदी रिहाइ गरिने प्रवक्ता लेभीले बताएका छन् । यसका लागि युद्धविराम पनि लम्बिँदै जाने उनले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । हमासले बिहीबार बिहान १० बजेबाट युद्धविराम गर्ने घोषणा गरिसकेको छ भने इजरायलले बुधबार रातिसम्म युद्धविरामको समय सार्वजनिक गरेको छैन ।

इजरायलको गुप्तचर निकाय ‘मोसाद’का प्रमुख डेभिड बर्निया कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अलथानीसँग बन्धक सम्झौताको अन्तिम विवरणबारे छलफल गर्न बुधबार दोहा पुगेका छन् । बर्निया र अलथानीबीच बिहीबार बिहान १० बजे भेट्ने तय भएको छ ।

कतारको विदेश मन्त्रालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सुरुमा बालबालिका र महिलासमेत गरी हमासले ५० जना बन्धक र इजरायलले पनि आफ्नो जेलमा रहेका प्यालेस्टिनी महिला र बालबालिका छाड्ने सहमति भएको जनाएको छ । त्यस्तै अमेरिकी टेलिभिजन सीएनएनले पहिलो चरणमा हमासले छाड्ने भनिएका ५० जनाभित्र ३ अमेरिकी नागरिक हुने जनाएको छ । कात्तिक ३ र ७ मा हमासले चार बन्धकलाई रिहा गरेको थियो । त्यस्तै इजरायली सेनाले गाजामा कात्तिक १२ मा गरेको स्थलगत कारबाहीका क्रममा आफ्ना सैनिक ओरी मेगिदिशलाई हमासको नियन्त्रणबाट मुक्त गरेको थियो ।

हमासले असोज २० मा इजरायलको दक्षिण क्षेत्रमा हवाई र स्थल आक्रमण गरेको थियो । हमास लडाकुले किबुज अलुमिम क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने चार जना घाइते भएका थिए । विपिनलाई भने सोही स्थानबाट हमासले बन्धक बनाई लगेको थियो । त्यसबाहेक हमासले ४० बालबालिका, १३ आमा र ३४ विदेशीसहित २ सय ४० जनालाई बन्धक बनाएर गाजा क्षेत्रमा राखेको इजरायलको दाबी छ । विपिनलाई भने हमासले नियन्त्रणमा लिई अलसिफा अस्पतालमा लगेको देखिएको दाबीको सीसीटीभी फुटेज इजरायलले आइतबार सार्वजनिक गरेको थियो ।

किबुज अलुमिमबाट बन्धक बनाउनुअघि विपिनले लगाएको भेस्ट, कट्टु र चप्पल भिडियोमा देखिएको युवकसँग मेल खाएको दाबी गरिएको छ । इजरायली सेना आईडीएफद्वारा सार्वजनिक गरिएको उक्त सीसीटीभी फुटेजमा असोज २० को बिहान १०:५३ बजे तीन जना हतियारधारीले एक जना युवकलाई घिच्याउँदै अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ । ती व्यक्तिलाई आईडीएफले नेपाली बन्धक विपिन भएको दाबी गरेको छ । ती बन्धकलाई खाली खुट्टा रकट्टुमा कपडाले टाउको छोपेर अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ ।

हमासको आक्रमणमा करिब १२ सय जनाको मृत्यु भएको इजरायलले जनाएको छ भने इजरायली आक्रमणमा १२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।

 

ekantipur.com बाट 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *