सुदूरपश्चिममा ८.६ म्याग्निट्यूडको भूकम्प गए १६ हजार बढीको मृत्यु हुने अनुमान

सुदूरपश्चिममा ८.६ म्याग्निट्यूडको भूकम्प गए १६ हजार बढीको मृत्यु हुने अनुमान

धनगढीः सुदूरपश्चिम प्रदेश केन्द्र विन्दु भएर ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गए १६ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने अनुमान भूकम्पविदहरुले गरेका छन्।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना, सुपर परियोजनाको प्राविधिक सहयोग र प्रदेश सभा सचिवालय सुदुरपश्चिमको समन्वयमा हिजो धनगढीमा भएको जोखिम सुसुचित सार्वजनिक नीति तय गर्न सांसदहरुको भुमिका बिषयक कार्यशाला गोष्ठीमा विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्।

प्रदेशमा भुकम्प, बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपदहरुबाट प्रभावित हुन सक्ने भएकाले जोखिम न्युनिकरण गर्न तत्काल अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाइहाल्नु पर्ने सुझाव विषय विज्ञहरुले दिएका छन्। साथै पश्चिम नेपाललाई केन्द्र बिन्दु बनाएर ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प जाने संभावना समेत उच्च देखिएको विपद् बिषय विज्ञले बताएका हुन्।

पुर्वशिक्षा मन्त्री एवं विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले सुदूरपश्चिममा पहिरो, भूकम्प, बाढी, आगलागी, शितलहर, चट्याङ्ग, सडक दुर्घटना, महामारी, जनावर आतंक लगायत विपदबाट वर्षेनि ठूलो आर्थिक एवं मानवीय क्षति हुने गरेको बताए।

सुदूरपश्चिममा सन् १९७१ देखि २०१९ सम्म पहिरोबाट पाँच सय १० र बाढीबाट ३१८ जनाको मृत्यु भइसकेको छ। त्यस्तै भूूकम्पबाट १२७, आगोबाट १२५ तथा चट्याङबाट १२४ जनाको मृत्यु भएको विपदविज्ञ डाक्टर तुलाधारले बताए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सुदूरपश्चिममा २०८० असोज १६ गते दिउँसो २ः४० मा ५ दशमलव ३ म्याग्निट्यूड, असोज १६ गते दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निट्यूडको भूकम्प गएको छ। जसमा १ जनाको मृत्यु ११ जना घाइते भएका छन्।

भूकम्पबाट निजी घर दुई हजार ४४५ पूर्ण रुपमा क्षति र पाँच हजार ९ सय ९५ घरमा आंशिक क्षति पुगेको छ। एक सय २ सरकारी भवनमा पूर्ण क्षति र एक सय ३४ सरकारी भवनमा आंशिक क्षति पुगेको छ। सुदूरपश्चिममा यदि रातिको समयमा ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गएमा १६ हजार ७ सय ७२ जनाको मृत्यु हुने अनुमान राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गरेको छ।

बिदाको दिनमा भूकम्प गएमा १० हजार ७९७ र कार्यालय समयमा भूकम्प गएमा ७ हजार ७६६ जनाको मृत्यु हुने आंकलन गरिएको छ। यसबाट सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा मानवीय क्षति हुने अनुमान गरिएको छ। यस्तो जोखिमको अवस्थामा प्रदेश सरकारले विस्तृत भूकम्पीय प्रकोप तथा जोखिम आंकलन र परिदृश्यमा आधारित कुल क्षति तथा नोक्सानी आंकलन गर्ने, जोखिम न्युनिकरणका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाएर प्रत्येक स्थानीय तहमा भूूकम्प प्रतिकार्य ढाँचा निर्माण गरेर लागु गर्नुपर्नेमा विषय विज्ञहरुले जोड दिएका छन्। यस्ता काम अगाडी बढाउन प्रदेश सरकार तयार रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बताए।

Leave a Reply