सुन तस्करीमा छोरालाई हतकडी, बाउलाई उन्मुक्ति

सुन तस्करीमा छोरालाई हतकडी, बाउलाई उन्मुक्ति

काठमाडौं – विद्युतीय चुरोट (भेप) मार्फत अवैध सुन तस्करीको अभियोगमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरामाथि मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

सीआईबीले राहुलसहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको हो ।

६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमा छन् । सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखिएको छ ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध आठ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ ।

२०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो सुन भेटिएको थियो ।

भेपका रूपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए । महरा बाबुछोराले समेत २५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेका थिए ।

त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरेको थियो । गत असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएको छ ।

तर उनलाई मुख्य प्रतिवादी नबनाई उन्मुक्ति दिइएको छ । विभिन्न काण्ड गरेर विवादमा तानिएका महराले सबैमा उन्मुक्ति पाउँदै आएका छन् ।

प्रचण्डको नेतृत्वमा सरकार बनाउन ५० करोड माग गर्दै उनले चिनियाँ व्यापारीलाई फोन गरेको अडियो सार्वजनिक भएको थियो । तर तत्कालीन सरकारले उनलाई यो प्रकरणमा सोधपुछसमेत गरेन ।

संसद् सचिवालयकी एक महिलामाथि यौन काण्डको आरोपमा महराले सभामुख पद गुमाए । तीन महिना जेल बसे । तर अदालतबाट उनलाई सफाइ दिइयो ।

अहिले नौ केसी सुन तस्करी प्रकरणमा पनि महरालाई उन्मुक्ति दिइएको छ । बरु उनका छोरा राहुलको भने चिसो छिँडीको बास हुने भएको छ ।

 

Leave a Reply