टिकट काटेका यात्रु छाडेर नेता लिई फर्कियो समिट

टिकट काटेका यात्रु छाडेर नेता लिई फर्कियो समिट

मुगु — समिट एयरले रारा विमानस्थलबाट टिकट काटिसकेका यात्रु छाडेर नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितको नेताको टोली नेपालगन्ज पठाएपछि १६ जना यात्रु अलपत्र परेका छन् । अलपत्र पर्ने सबै चिकित्सक हुन्  ।

रारा एयरपोर्टदेखि नेपालगन्ज जाने समिट एयरको जहाजमा माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष बिमला केसी, धर्मराज शाह, प्रकाशबहादुर शाहीलगायत ५ जना माओवादीका नेतालाई पठाएपछि १६ जना चिकित्सकको टोली एयरपोर्टमै अलपत्र परेका हुन् ।

भीआईपीको सिट मिलाउनुपर्ने भएकाले ५ जना डाक्टरको टोली छुटाएर अरु डाक्टरलाई जानुस् भन्दा उनीहरू सबै एकैचोटी जान खोज्दा समस्या आएको समिट एयरका स्टेसन इन्चार्ज महेन्द्र भामले बताए । माओवादीका नेता आजै दोलखा जानुपर्ने भएपछि डाक्टर छुटाएर पठाउनुपर्ने बाध्यता भएको उनले बताए ।

आधा डाक्टरको टोली जान नमानेपछि ५ जना माओवादीका नेता र इमरजेन्सी बिरामीसहित १६ जना यात्रुलाई टिकट दिएर नेपालगन्ज पठाएको भामले जनाए ।

‘समिट एयरमा हाम्रो फिर्ता टिकट थियो । तर माओवादी नेताका कारणले गर्दा जान पाइएन,’ यात्रु एवं चिकित्सक प्रमोद लामिछानेले गुनासो पोखे, ‘हामी १६ जनालाई पठाएर माओवादी नेता पछि गएको भए पनि हुन्थ्यो ।’

नेपाल मेरुदण्ड चिकित्सक संघ काठमाडौंदेखि १६ जनाको चिकित्सकको टोली जुम्लामा कर्णाली एकेडमी हेल्थ साइन्सको कार्यपत्र प्रस्तुत गर्न आएको थियो । यति बेला पर्यटक ओसार्न जहाज लुक्ला, पोखरा-जोमसोम तर्फ लागेपछि कर्णालीका यात्रुले हवाई टिकट पाउन मुस्किल छ ।

जहाज अभावका कारण हिजोआज रारा विमानस्थलमा मुस्किलले दैनिक एक उडान हुने गरेको छ । रारा विमानस्थलमा सर्वसाधारण यात्रुदेखि बिरामीको चाप छ । भनेको समयमा जहाज नआउँदा र टिकट नपाउँदा यात्रुहरु मारमा परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *