उखुबारीमा शिशुलाई बाधेर फरार भएकी आमा पक्राउ

उखुबारीमा शिशुलाई बाधेर फरार भएकी आमा पक्राउ

धनगढी, असोज ८ गते । ‘जसको कोही हुँदैन, त्यसको लागि ईश्वर हुन्छन्।’ यो भनाइ ११ महिने शिशु (बालिका) को जीवनमा लागु भएको छ। ती बालिका शुक्रबार बिहान कञ्चनपुर बेलौरी नगरपालिका–७ स्थित स्याली नदीनजिक उखुबारीमा बाँधिएको अवस्थामा भेटिएकी थिइन्। निर्दयी आमा २५ वर्षीया शर्मिला चौधरी ती बालिकालाई राति ७र८ बजेतिर उखुबारीमा बाँधेर भागेकी थिइन्। स्थानीयले बिहान उखुबारीमा बालिका रोइरहेको सुनेपछि प्रहरीलाई खबर गरी उद्धार गरेका हुन्।

“राति बेस्सरी पानी परेको थियो। बालिका रातभर पानीमा भिजेर बाँचेकी हुन्,” पुनर्बास नगरपालिकाका उपप्रमुख भुलियाकुमारी रानाले भन्नुभभयो। “आफूसँग बच्चा रहेको प्रमाण नष्ट गर्न आमा शर्मिलाले बालिकालाई उखुबारीमा बाँधेर भागेको भनाइ उहाँको छ। बालिकाको सकुशल उद्धार गर्न सफल भइयो,” उहाँले भन्नुभयो, “धन्न वन्यजन्तुले खाएन, भगवान्ले नै बचाएका हुन्।”

परपुरुषको प्रेमजालमा परेकी निर्दयी आमा शर्मिलाले आफू अविवाहित र एक सन्तानकी आमा भएको प्रमाण लुकाउन बच्चालाई राति उखुबारीमा छाडेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ। सामाजिक सञ्जालमार्फत चिनजान भएपछि स्थानीय प्रेम चौधरीसँग प्रेमसम्बन्ध गाँसेकी शर्मिलाले तेस्रो पटक विवाह गर्न यस्तो घिनलाग्दो हर्कत गरेको भनाइ प्रहरीको छ। जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरले प्रेमी प्रेमकै घरबाट उनलाई पक्राउ गरी बेलौरी इलाका प्रहरी कार्यालय ल्याई आवश्यक कारबाहीका लागि अनुसन्धान सुरु गरेको पालिकाका उपप्रमुख रानाले जानकारी दिनुभयो।

शर्मिलाविरुद्ध पुनर्बास नगरपालिका–२, अमरैया बस्ने उनकै आमा रामपति र फुफूले कानुनी कारबाहीका लागि प्रहरीमा जाहेरी दिनुभएको छ। उखुबारीमा फेला परेकी ११ महिने बालिकालाई हजुरआमा रामपतिको जिम्मा लगाइएको छ। उपप्रमुख रानाका अनुसार एउटा विवाह बिग्रेपछि नयाँ जीवनसाथीको खोजीमा रहेकी शर्मिलाको चाररपाँच महिनादेखि प्रेमसँग फेसबुकमा कुराकानी हुँदै आएको थियो। छोटो अवधिमै दुवै एकअर्काको मायाजालमा परेपछि केटाले शर्मिलालाई घर हेर्न र आफ्ना आमाबुबासँग भेट गर्न बोलाएका थिए। “कुरा बुझ्दा शर्मिलाले आफू विवाहित र सन्तानकी आमा रहेको भन्ने कुरा केटालाई थाहा दिएकी रहिनछन्,” उहाँले थप्नुभयो, “केटाले आफ्नो घर हेर्न बोलाएको मौका पारी बालिकालाई उखुबारीमा बाँधेर प्रेमीको घर गएको देखिन्छ।”

प्रहरी नियन्त्रणमा रहेकी शर्मिलाको पहिल्यै विवाह भइसकेको र सन्तानलाई उखुबारीमा बाँधेर आफूसँग आएको थाहा पाएपछि प्रेमले उनलाई स्वीकार्न नसक्ने बताएका छन्। “भोलिका दिनमा अरू कोही पाएपछि यिनले मेरो सन्तानलाई पनि यस्तै गर्लिन् भनेर केटाले स्विकार्न नसक्ने जवाफ दिए,” उपप्रमुख रानाले भन्नुभयो। शर्मिलाले यसअघि पुनर्बास नगरपालिका–१, पुरैनाका अजय चौधरीसँग पहिलो विवाह गरेकी थिइन्। सात वर्षअगाडि भागेर विवाह गरेकी शर्मिलाको छ वर्षको छोरा अजयसँगै रहेको जनाइएको छ। पहिलो श्रीमान्सँगको सम्बन्ध बिग्रेपछि कैलालीको कैलारी गाउँपालिका–७, रतनपुरका सुन्दर चौधरीसँग भागेर दोस्रो विवाह गरेकी थिइन्।सुन्दरसँग विवाह गरेको सात महिनामै बच्चा जन्मेपछि उनीहरूको सम्बन्ध टुटेको थियो। घर भित्र्याएको वर्ष दिन नपुग्दै जन्मिएको बच्चा आफ्नो हुन नसक्ने भन्दै सुन्दरले शर्मिलालाई घरबाट निकालेका थिए। त्यसपछि पुनर्बास अमरैयास्थित माइतीघरमा बस्दै आएकी शर्मिलाको प्रेम चक्कर प्रेमसँग चलेको थियो। हजुरआमाको आर्थिक अवस्था दयनीय रहेका कारण बच्चीको भविष्य सुरक्षित राख्नका लागि सहयोग जुट्न थालेको छ। गोरखापत्र

 

Leave a Reply