अर्घाखाँची छिरेका ४० विदेशी पर्यटक नाङ्गिएर तमासा देखाउदै

अर्घाखाँची छिरेका ४० विदेशी पर्यटक नाङ्गिएर तमासा देखाउदै

सन्धिखर्क : नेपाल घुम्न आएका ४० भन्दा धेरै विदेशी पर्यटकले अर्घाखाँचीमा पुगेर नाङ्गै भएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनलाई तनाव भएको छ ।

स्थानीय प्रशासनको अनुमतिबिना जिल्लाको शीतगंगा नगरपालिकामा प्रवेश विभिन्न बहानामा नाङ्गिएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनले ती विदेशी पर्यटकलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ ।

शितगंगा नगरपालिका–६ गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरि टेन्ट टाँगेर बसेका उनीहरुले नाङ्गै भएर नाचगान गर्नुका साथै नुहाएका थिए ।

४० जना पर्यटकको टोली त्यस क्षेत्रमा पसेर नाङ्गिँदै उछृंखल गतिविधि गरेको गुनासो स्थानीयले गरेपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरी लागिरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

पर्यटकको टोलीले नग्न अवस्थामा खोलामा नुहाउने, माटो दल्ने, नाङ्गै तस्विर कैद गर्ने जस्ता गतिविधि गरेका थिए । त्यसक्रममा उनीहरुले बिनासूचाना र अनुमति टेन्ट नै टाँगेर बसेपछि फिर्ता पठाउन गएरातिदेखि नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रहरी प्रम्ुख खिमबहादुर घमले बताए ।

‘महिला र पुरुष पर्यटकहरु नाङ्गगै बस्ने, नुहाउने माटो दल्ने र योगा गर्ने जस्ता गतिविधि गरेका पाइएको छ’, उनले भने ।

 

त्यसक्रममा विदेशी पर्यटक ल्याउने नेपाली २ नेपालीलाई प्रहरीले गएराति नै पक्राउ गरि सकेको छ । अर्का एकजनालाई पनि पक्रन प्रहरी परिचालन गरिएको छ । प्रहरीले नेपालीहरु शालिक ढुङगाना र मोतीराम गैरेलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

स्थानीय बुङ्ची खोला बगरमा २५ राष्ट्रका ४० भन्दा बढी नागरिकले उच्छृंखल गतिविधि गरिरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेर उनीहरुलाई फिर्ता गर्न थालिएको प्रजिअ भुसालको भनाइ छ ।

प्रहरी निरीक्षक परियारका अनुसार उनीहरु विभिन्न देशका भएकाले भाषामा समस्या भइरहेको छ । ‘अस्वभाविक गतिविधि गरिरहेका विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’ उनले भने ।

शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा विदेशी नागरिकको समुहले बस्ने अनुमति लिन नगरपालिकामा निवेदन दिएका थिए शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्य अधिकारीले सुरक्षा हेर्ने जिल्ला प्रशासनको भएकाले त्यहीँ गएर अनुमति लिन भनेका थिए । उनीहरु त्यस क्षेत्रमा बसेकोबारे आफुलाई नभएको उनले बताए ।

कुनै पनि विदेशीलाई टेन्ट टाँगेर बस्न जिल्ला प्रशासनबाट अनुमति नदिएको प्रजिअ भुसालले बताए । स्थानीयका अनुसार विदेशीहरु २, ३ जनाका दरले जंगलमा प्रवेश गरेका थिए । उनीहरु त्यस क्षेत्रमा पसेकोबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

annapurnapost.com बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *