आत्महत्या रोकथाम गर्न सबैको प्रयास आवश्यक प्रजिअ : पोखरेल

आत्महत्या रोकथाम गर्न सबैको प्रयास आवश्यक प्रजिअ : पोखरेल

सुशील भण्डारी ,अछाम : १७ औं अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवस, चेतनामुलक कार्यक्रम गरी अछाममा पनि मनाइएको छ ।
दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा मंगलसेनमा बजारमा प्रभातफेरी संगै अन्तरक्रिया कार्यक्रम गरिएको    छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामले जिल्लामा  आत्महत्या घटनाको तथ्यांक प्रस्तुत गरेको थियो जसमा आर्थिक वर्ष

२०७७।०७८ देखी चालु आर्थिक वर्ष २०८०।०८१ को भदौ महिना सम्म  १०४ जनाले आत्महत्या गरेको पाईएको छ । बदलिँदो सामाजिक संरचना र परिवेशसंगै आत्महत्याको क्रम पनि बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ । बढ्दो महंगी, बेरोजगारी, बदलिँदो सामाजिक परिबेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको हो  । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले अछाम जिल्लामा आत्महत्याको डरलाग्दो रुप देखिन थालेकाले सबैले यो विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो । आत्महत्या रोकथाम सरकारको मात्र प्रयासले सम्भव नभएकोले सबैले आआफ्नो ठाउँबाट रोकथामको प्रयास गर्नुपर्ने बताउनुभयो । आत्महत्या गर्ने सोच वा विचार भएका मानिसहरुको कुरा र समस्या समयमै सुनिदिनुपर्ने र त्यस्ता व्यक्तिका कुराहरु सहानुभुतिपुर्वक सुनिदिने र परामर्श दिने कार्यले रोकथाममा ठुलो सहयोग पुग्ने उहाँले बताउनुभयो । पछिल्लो समय बालबालीकाहरु विभिन्न कारणले आत्महत्याका लागि प्रयोग हुने किटनाशक औषधि, डोरी र मादकपदार्थको प्रयोग गर्ने गरेको पाईएकोले यस्ता  बस्तुहरु विक्रीवितरण गर्ने कुरामा नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले आत्महत्याबाट बच्न र आत्महत्याको सोच आउन कम गराउने बारेमा जनचेतना जगाइरहेको जानकारी दिनुभयो । मनलाई नियन्त्रणमा राख्नका लागि उपयुक्त ध्यान विधिको स्कुल तहदेखि नै विद्यार्थीलाई गराउनुपर्ने बताउनुभयो । आत्महत्या गर्नेले पहिलेदेखि नै खतराको सूचक देखाउने भएकाले सो सूचकको समयमै पहिचान गरी उचित मनोपरामर्श दिन सके आत्महत्या कम हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनराज ढुंगानाले बताउनुभयो । बढ्दो डिप्रेशन, तनावपूर्ण जीवन, आघात, यातना, हिंसा लगायतका कारण आत्महत्याको दर बढेको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डे,नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य सुशील भण्डारी,मंगलसेन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वृख बोगटी,वडा नं. ५ का वडा अध्यक्ष झंकर प्रसाद भाट ,अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धुर्व शाही लगायतले मन्तब्य राखेका थिए । उक्त कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजेन्द्र साउदले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *