‘के माया लाग्छ र!’ पछि नवीन र हर्कको म्युजिकल फिल्म ‘तीनपाते’

‘के माया लाग्छ र!’ पछि नवीन र हर्कको म्युजिकल फिल्म ‘तीनपाते’

पछिल्लो समय ‘के माया लाग्छ र!’ गीतले निकै चर्चा पायो। गायक निशान भट्टराई र एलिना चौहानले गाएको यो गीतले युट्युबमा एक करोड भ्यूज काटिसकेको छ। धेरैले रुचाएको ‘के माया लाग्छ र!’ गीतका रचनाकार हर्क साउद र म्युजिक भिडियो निर्देशक नवीन चौहानले फेरि अर्को गीतमा सहकार्य गरेका छन्। गत बिहिबार सार्वजनिक ‘तीनपाते’ बोलको नयाँ गीतमा सुजन चापागाईं र विद्या तिवारीले स्वर दिएका छन्।

‘म्युजिकल फिल्म’ भनिएको गीतको भिडिओमा अङ्ग्रेजी सबटाइटलसमेत दिइएको छ। छोटो फिल्म हेरेजस्तै लाग्ने गीतको भिडिओमा छुर्पी व्यवसायमा संलग्न युवाको कथा छ। छुर्पी उत्पादन पेसामा संलग्न परिवारमा जन्मेका भिडिओका मुख्य पात्र सानैदेखि सुखी जीवन कल्पन थाल्छन्। सानैदेखि छुर्पी व्यवसायबाट भविष्य बनाउने र छुर्पी उत्पादनलाई नयाँ ढंगले लैजाने उनको सपना हुन्छ।

यो सँगैसँगै गीतको भिडिओले ती पात्रको बाल्यकालदेखिको प्रेम कथालाई पनि समेटेको छ। गीतमा मुख्य पात्रको बाल्यकालीन र युवाकालीन फरक फरक चरणलाई देखाइएको छ।

छुर्पी व्यवसायलाई व्यापारिक हिसाबमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने पात्रको कथा भन्ने यो म्युजिक भिडिओले युवा पुस्तामाझ सकारात्मक छाप छाड्न सफल छ।

तीनपाते मीठो चियाको पर्याय हो। गीतको शब्दले प्रेमलाई तीनपाते चियासँगै दाज्दै प्रेमको आनन्दलाई संकेत गर्छ।

विदेश जानु नै विकल्प नठानी स्वदेशमै परिश्रम गर्ने हो भने उज्जव भविष्य बन्न सक्ने सन्दर्भ भिडिओमा प्रस्तुत छ। समग्रमा यो भिडिओले सामान्य परिवारमा जन्मेका युवाको कथा बोकेको छ भने स्थानीय उद्यममा जोड दिनुपर्ने विषय उठाएको छ।

भिडिओमा नविन चौहानले निर्देशन मात्र नभई उनैले कथा समेत दिएका छन्। सुजन चापागाईंको संगीत रहेको यो गीतमा गंगा थापाले संगीत संयोजन गरेका हुन्। गीत सुन्दा पाइने मीठासले यसको स‌ंगीत स‌ंयोजनमा गरिएको मेहनत महशुस हुन्छ।

मिलन खत्री, अनु काफ्ले, सम्राट थापा, नयन नेपाल, मुना धिताल लगायत कलाकारको अभिनय रहेको छ। यसमा गीतका हर्क साउदले पनि अभिनय गरेका छन्। यसलाई सुयोग ढकालले भावनुवाद गरेका हुन्। ‘तीनपाते’ गत बिहिबार युट्युब च्यनाल ‘आर्टमाण्डुु’बाट सार्वजनिक भएको हो।

Leave a Reply