उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न काङ्ग्रेस उपसभापति गुरुङको माग

उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न काङ्ग्रेस उपसभापति गुरुङको माग

काठमाडौं : नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले फरक काँग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताएका हुन्।

उनले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्ने बताए। उनले उच्च तहका नेताको सम्पत्ति अब चाँडै नै छानबिन हुने बताए। उपसभाति गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गरे।

उनले भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने बताए। निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको बताए।

उनले भने, ‘धनराज गुरुङ यदि फरक काँग्रेस हो, शेखर कोइराला यदि फरक काँग्रेस हो भने हामीले भन्नैपर्छ। पहिला हाम्रो सम्पत्ति छानबिन गरेर देखाऊ सरकार भन्न सक्नुपर्छ। छानबिन समिति आयोग गठन गर भन्नुपर्छ। म आफैँ सरकारमा छु। आज नीति तथा कार्यक्रममा आएको उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने भनेर हामीले लेखिसकेपछि अब भन्नैपर्छ कि सरकारले शायद ढिलो चाँडो म पनि मन्त्री छु, सुझाव दिएकै छु‚ उच्च तहका नेताहरुको सम्पत्ति छानबिन आयोग गठन गरेरै छोडिन्छ, कसैलाई छोडिँदैन। विषयबाट‚ सिद्धान्तबाट गर्ने होला नि त रुपान्तरण, इस्युबाट होला नि त, रुपान्तरण व्यक्तिको अनुहारबाट खोज्ने होइन। भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु, प्रधानमन्त्रीज्यु अघि बढ्नुस्। जो जो पर्छन् पर्छन्, काँग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन, भ्रष्टाचारीलाई कानूनी कठघरामा उभ्याउने हो। म जहाँ छु त्यहीँ छु, मन्त्री भएपछि डराएको छैन, मन्त्री पद छोड्नुपरे छोडौँला, आफ्नो निष्ठा, सिद्धान्त छोडिन्न, विचार छोडिन्न।’

उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताए।

उनले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताए। १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोइरालालाई पार्टीको सभापति बनाउने उद्घोषसमेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *