उपप्रधानमन्त्री पाए सिके राउत आफैं सरकारमा जाने

उपप्रधानमन्त्री पाए सिके राउत आफैं सरकारमा जाने

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा सामेल हुने भएको छ ।

सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय लिएपछि एक दुई दिनमै सो पार्टीबाट मन्त्री बन्ने भएका छन् ।

सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमतलाई एक मन्त्री र एक राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउनुपर्ने निर्णय गरेको हो । तर अहिलेसम्म कुन मन्त्रालय दिने भन्ने निर्णय भइसकेको छैन ।

आइतबार बिहान जनमत पार्टीका अध्यक्ष सिके राउतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन आग्रह गरेका थिए । राउतले सरकारमा आउन तीन सर्त राखेका थिए ।

संघीय सरकारमा कम्तीमा दुई मन्त्री, मधेस प्रदेश सरकारमा आफ्ना दुई मन्त्रीलाई जिम्मेवारी तोकिनुपर्ने र बजेटमा मधेस प्रदेश उपेक्षामा परेकाले योजना थप गर्नुपर्ने उनको सर्त थियो ।

जसमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएपछि जनमत पार्टी सरकारमा सामेल हुन राजी भएको हो । सोमबार गठबन्धनको बैठकमा प्रचण्डले जनमतलाई सरकारमा ल्याउनेबारे परामर्श मागेका थिए । जनमतलाई सरकारमा फर्काउन सबै दल सहमत भएको लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीको भनाइ छ ।

‘जनमतलाई सरकारमा ल्याउन सबै दल सकारात्मक छन् । कुन मन्त्रालय दिएर कसरी मिलाउने, त्यो जिम्मेवारीचाहिँ प्रधानमन्त्रीको हो,’ भण्डारीले भने । एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने जनमतले दुई मन्त्रालय मागेको अवस्थामा थप एक राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउने सहमति भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पर्यटन वा संघीय मामिलामध्ये एक मन्त्रालय दिने मनस्थिति बनाएका छन् । जनमत पार्टीले पर्यटन मन्त्रालयमा आँखा लगाएकाले वर्तमान मन्त्री सुदन किरातीको पद धरापमा पर्ने देखिएको छ ।

जनमत पार्टीबाट पहिले अब्दुल खान खानेपानी मन्त्री बनेका थिए । त्यसबेला जनमतले उद्योग मन्त्रालयमा दाबी गरेको थियो । तर प्रचण्डले दिएनन् ।

६ जना सांसद रहेको जनमतले आफूलाई गठबन्धनका अन्य दलले हेपेको भन्दै मन्त्री खानलाई फिर्ता बोलाएको थियो । अब अब्दुल खान मन्त्री बन्ने छैनन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष सिके राउत आफैं सरकारमा जान खोजिरहेका छन् । तर त्यसका लागि उपप्रधानमन्त्री पाउनुपर्ने उनको माग छ । उपप्रधानमन्त्री दिए आफैं सरकारमा सहभागी हुने राउतले प्रचण्डलाई सन्देश पठाएको बुझिएको छ ।

Leave a Reply