सुदूरपश्चिममा सत्ता पक्षकै सांसद भन्छन्न : यथास्थितिमा बजेट पारित हुँदैन

सुदूरपश्चिममा सत्ता पक्षकै सांसद भन्छन्न : यथास्थितिमा बजेट पारित हुँदैन

धनगढी :सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसका ६ जना सांसदले काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर बजेटबारे गुनासो गरेका छन् । प्रदेश सभा सदस्यहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने पार्टी सभापतिलाई बताएका छन् । भेटका क्रममा बजेट असन्तुलित रहेको र बिचौलियाको प्रभावमा बनेकाले पास गर्न नसकिने प्रस्ट पारेको कांग्रेस प्रदेश महामन्त्री अछाम १ प्रदेश सभा क बाट निर्वाचित मेघराज खड्काले बताए ।

आफूसहित प्रत्यक्ष निर्वाचित ६ जना प्रदेश सभा सदस्यले पार्टी सभापतिसँग बजेट पारित गर्न नसकिने बताएको उनले जानकारी दिए । देउवाले भने पूरक बजेट ल्याएर भए पनि असन्तुष्टि सम्बोधन गर्ने भन्दै बजेट पास गर्न आग्रह गरेको बताइएको छ । भेटमा सहभागी एक नेताका अनुसार देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गरेर बजेटमा प्रदेश सभा सदस्यहरूको असन्तुष्टिबारे जानकारी गराएका थिए ।

प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री र एकीकृत समाजवादीका नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन् । ‘हामीले पार्टी सभापतिलाई बजेटबारे हाम्रा कुरा राख्यौँ र पास गर्न सक्दैनौँ भनेर जानकारी गरायौँ,’ खड्काले भने, ‘उहाँले पूरक बजेट ल्याएर सम्बोधन गरौँला, बजेट फेल गराउनुभएन भन्नुभयो ।’ पार्टी सभापतिलाई समेत जानकारी गराएकाले आफूहरू बजेटको विपक्षमा उभिने उनले बताए ।

प्रदेश सरकारले गत १ असारमा आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको थियो । बजेट सार्वजनिक भएलगत्तै प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट जनविरोधी र कर्मकाण्डी भएको टिप्पणी गरेका थिए । आर्थिक मामिलामन्त्री शाहीले भने बजेट यथार्थपरक रहेको दाबी गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *