बैतडीमा रक्त समूह पहिचान, आवश्यता परेको बेला रक्तदान गर्न सहज हुने

बैतडीमा रक्त समूह पहिचान, आवश्यता परेको बेला रक्तदान गर्न सहज हुने

बैतडी –बैतडीमा रक्त समूह पहिचान गरिएको छ । शाहीलेकस्थित विरेन्द्र माविमा स्थानीय युवाहरुको रक्त समूह पहिचान गरिएको हो । रोयल हिल युथ क्लबको आयोजना र जिल्ला अस्पताल बैतडीको प्राविधिक सहयोगमा रक्त समूह पहिचान गरिएको हो ।

रगतको आवश्यकता पर्नेे बिरामीहरुलाई रक्तदान गर्नका लागि सहज होस भनेर स्थानीय युवाहरुको रक्त समूह पहिचान गरिएको रोयल हिल युथ क्लबका सल्लाहकार महेशदत्त भट्टले बताए । आज १०८ जनाको रक्त समूह पहिचान गरिएको उनले बताए ।

रक्त समूह पहिचान गरिएकाहरुको सूची जिल्ला अस्पतालमा पठाइने र रगतको आवश्यकता परेको बेला उनीहरुलाई रक्तदानका लागि तयार राखिने भट्टले बताए ।

समुदायस्तरबाट सामाजिक उत्तरदायित्वका कामहरु गनुपर्छ र यसका लागि युवाहरुले नेतृत्व लिनुपर्छ भन्ने उद्देश्यका साथ रक्त समूह पहिचान कार्यक्रमको आयोजना गरिएको रोयल हिल युथ क्लबका अध्यक्ष चन्द्र भण्डारीले बताए ।

बैतडीमा रक्त सञ्चार केन्द्र नहुँदा आकस्मिक बिरामीहरुले रगतका लागि नेपाली सेना, प्रहरी र स्वास्थ्यकर्मीहरुको भरपर्नुपर्ने अवस्था रही आएको छ । आकस्मिक बिरामीहरुलाई समुदायका तर्फबाट पनि केही सहयोग होस भनेर यो अभियान सञ्चालन गरिएको भण्डारीले बताए ।

रक्त समूह पहिचान कार्यक्रमको शुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सामाजिक उत्तरदायित्वका काममा युवाहरुको संलग्नता हुनु खुसीको कुरा भएको बताए । यस्तै जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले रक्त समूह पहिचानबाट आकस्मिक बिरामीहरुलाई रगतको आवश्यकता परेको बेला सहज हुने बताए ।

रोयल हिल युथ क्लबले निरन्तर रुपमा विभिन्न सामाजिक कार्य गर्र्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *