ओलीका स्वकीय सचिव राजेश बज्राचार्य पनि शंकाको घेरामा !

ओलीका स्वकीय सचिव राजेश बज्राचार्य पनि शंकाको घेरामा !

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी गृहमन्त्री हुँदा प्रतिवेदन कीर्ते गरेको र करोडौँ रुपैयाँ लिएको आरोप छ ।

सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । नेकपा (एमाले)माथि लगातार परेको दबाबपछि अनुसन्धानमा सहयोग गर्ने भन्दै निलम्बन गरेको थियो । त्यसअघि भने एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीलाई जोगाउन लागिपरेको भन्दै आलोचना भएको थियो ।

एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’, केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनका स्वकीय सचिवसमेत रहेका राजेश बज्राचार्य पनि प्रहरीको शंकाको घेरामा रहेका छन् ।

“विभिन्न व्यक्तिहरुबाट सुरु भएको यो प्रहरण पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसम्म आइपुगेको छ,” अनुसन्धानमा संलग्न एक अधिकारीले  भने, “टोपबहादुर रायमाझी र बालकृष्ण खाँणभन्दा कति माथिसम्म पुग्ने हो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ । पक्राउ परेका इन्द्रजित राईको अनुसन्धानले बादलसम्म पुग्न सक्छ । केपी शर्मा ओलीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यसम्म शंका गर्ने प्रयाप्त आधारहरु फेला परेका छन् । तर स्वतन्त्र प्रमाण फेला परिसकेको छैन ।”

उनका अनुसार फर्म्याट गरिएको मोबाइल रिकभर गर्दा को कोसँग कुरा भएको हो भन्ने देखिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले दिएको बयानका आधारमा पूर्वगृहमन्त्री खाँण, उनकी श्रीमती र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा मुछिएको प्रहरी स्रोतले जनाएको छ ।

“यो प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्, ” ती प्रहरी अधिकारीले भने, “पक्राउको सूचीमा अझै आठजना छन् । २० जनाको जाहेरी परेको छ । १२० जना पीडित सम्पर्कमा छन् ।”

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरीका उच्च अधिकारीलाई बोलाएर अनुसन्धानमा खुट्टा नकमाउन निर्देशन दिएको प्रहरी स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *