विश्वप्रकाशलाई भेटपछि गगनले भने, ‘अब देशलाई हाम्रो खाँचो छ’

विश्वप्रकाशलाई भेटपछि गगनले भने, ‘अब देशलाई हाम्रो खाँचो छ’

मंसिर १३ –नागरिकको भरोसालाई जोगाउन प्रधानमन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरूको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन् ।

उनले नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए । मंगलबार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए ।

थापाले भने, ‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली कांग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरूले राख्ने, बीचमा छलफल हुने, बहस हुने कुरालाई एकदमै स्वाभाविक रूपमा लिनुपर्छ । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हाले संसदीय दलको नेता बनाएको हो । अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । ’

उनले अधिकांश कांग्रेस सांसदहरूसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरूलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उनले सबै नेताहरूले सहयोगको वाचा गरेको बताए । महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिन सके मात्रै नागरिकहरूलाई आश्वस्त बनाउन सकिने बताए । उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताए । महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरूसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरूकै समर्थन र आशीर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे ।

उनले भने, ‘निर्वाचन भर्खर सम्पन्न भएको छ । समानुपातिक निर्वाचनको अन्तिम मत परिणाम आउन अझै केही समय बाँकी छ । निर्वाचित हुनुभएको सांसद साथीहरू पनि शुभकामना आदानप्रदानका लागि आफ्नो निर्वाचन क्षेत्रमा हुनुहुन्छ । प्रायः सबै साथीसँग टेलिफोनबाट संवाद भएको छ । केहीसँग भेटघाट भएको छ । यो कुनै व्यक्ति के हुने भन्ने कुरा प्रधान विषय होइन । नेपाली कांग्रेसले नै यो संसद्को निर्वाचनपछि देशको नेतृत्व दिने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *