देउवालाई कोइराला समूहको चेतावनी, ‘समानुपातिक सूची नसच्याए गम्भीर चुनौतिको सामना गर्न तयार रहनू’

देउवालाई कोइराला समूहको चेतावनी, ‘समानुपातिक सूची नसच्याए गम्भीर चुनौतिको सामना गर्न तयार रहनू’
निर्वाचन आयोगले भाेलि शनिबार कांग्रेसलाई बन्दसूची मिलाउन बोलाएको समयमा कोइराला समूहले असन्तुष्टि जनाउँदै बन्दसूचीमा आफ्नो समूहले दिएको नामावली समावेश गर्न सभापति दउवालाई दवाव दिएको हो । यसअघि आयोगमा नाम पठाउँदा आफ्नो पक्षका उम्मेदवारहरुको नाम अन्तिम समयमा सभापति देउवाले काटेर बन्दसूची पठाएको आरोप कोइराला पक्षको छ । कोइराला समूहले सभापति देउवाले बन्दसूची सच्याएर आफुले दिएका नाम समावेश नगराए प्रतिकारमा उत्रने निर्णयसमेत गरेको छ ।

कोइराला समूहमा रहेका एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार देउवाले साँझ पाँच बजेसम्म रहेका नाममध्ये आफ्नो समूहका अधिकांश उम्मेदवारको नाम कटाएको र राखिएकाहरुलाई पनि अन्तिममा पुर्याइएकाले बन्दसूची अनिवार्य संशोधन गर्न माग गरिएको हो ।उनका अनुसार कोइराला समूहले सूची संशोधनका लागि अलग्गै लिष्ट बनाएर सभापति देउवालाई बुझाएको छ । यसबारे आगामी रणनीति तयार गर्न कोइराला समूहमा छलफल भइरहेको छ ।

भोली आफु पक्षीय नेताहरुको समग्र भेलाका लागि एजेण्डा बनाउन छलफल भएरहेको ती नेताले जानकारी दिए । विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप आज कोइराला पक्षधरको बैठक बसेको हो । जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता रहेको उनले बताए । भोली शनिबार यो समूहको बृहत भेला आयाजना गर्ने कायक्रम छ ।

सत्ता गठबन्धनको समेत नेतृत्व गरिरहेका सभापति देउवाले सुरुबाटै समानुपातिक उम्मेदवार छनोटमा कोइराला समूहलाई कसेर लाने रणनीति रहेको र क्लस्टर मिलाएर संसदीय समिति नाम पुर्याउँदा पनि यो समूहबाट कममात्र नाम गएको ती नेताले बताए । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय समितिले पार्टी सभापति शेरबहादुर देउवालाई दिएकाले पनि कोइराला समूहबाट समानुपातिकमा कमले मात्र स्थान पाएका छन् । उचित संख्या नपाए देउवामाथि देशभरबाट दवाव बढाउने पक्षमा कोइराला समूह पुगेको छ ।

संस्थापन पक्षसँग १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी रहेका वरिष्ठ नेता कोइराला समूहले प्राप्त गरेको मतलाई आधार बनाएर टिकटमा आफ्नो हिस्सा माग गर्दै आएको थियो । उता, सभापति देउवा भने केन्द्रीय समितिलाई आधार बनाएर अगाडि गएका छन् । कांग्रेस केन्द्रीय समितिमा कोइराला समूह अल्पमतमा छ । झण्डै ८० प्रतिशत सदस्य सभापति देउवा पक्षका रहेकाले देउवाले कोइराला समूहलाई समानुपातिकमा कम सीट दिएर पेलेर जाने रणनीति बनाएका थिए । यसलाई कोइराला समूहले ठाडै अश्वीकार गरेको छ ।

यसैले पनि समानुपातिकतर्फ पुनः बन्दसूची संशोधन नभए कांग्रेसमा ठूलै कलह उत्पन्न हुने देखिएको छ । ती नेताको भनाइमा केन्द्रीय समितिलाई आधार बनाएर गरिएको टिकटको भागबण्डा कोइराला समूहलाई अमान्य छ । देउवाले बन्दसूची संशोधन गरी उचित स्थान नदिए निर्वाचनकै समय भएपनि पार्टीभित्र विद्रोह गराउने पक्षमा कोइराला समूह पुगिसकेको छ । यसै विषयमा साझा धारणा बनाउनका लाागि कोइराला समूहले शनिबार काठमाडौंमा भेलाको आयोजना गर्न लागेको हो ।

कोइराला समूहका नेताहरुको भनाइमा शनिबार निर्वाचन आयोगमा बुझाएको कांग्रेस उम्मेदवारहरुको बन्दसूचीमा व्यापक फेरबलन गर्नुपर्ने छ । यसका लागि सभापति देउवालाई संशोधनका लागि नामावलीसहितको अर्को लिष्ट बुझाइएको छ । कोइराला समूहले बुझाएको लिष्ट अनुसार बन्दसूची संशोधन नभए देउवाले आगामी निर्वाचनमा गम्भीर चुनौतीको सामना गर्नुपर्ने छ । यसले कांग्रेसलाई एक भएर चुनावमा जाने अवसर गुम्ने ती नेताहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *