देउवालाई गगनको चुनौती– ‘हामी पनि निर्वाचित महामन्त्री हौं, चुप लागेर बस्दैनौं’

देउवालाई गगनको चुनौती– ‘हामी पनि निर्वाचित महामन्त्री हौं, चुप लागेर बस्दैनौं’

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले अझै बेवास्ता गरेर चुप लागेर नबस्ने चेतावनी दिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले सभापति देउवाले विधानबमोजिमका काममा नै आफूहरूलाई थाहा नदिने र सल्लाह लिएर काम गर्ने नगरेको भन्दै चर्को आलोचना गरेका छन् ।

‘महाधिवेशनले तपाईँलाई सभापति चुनेको हो, हामीलाई पनि महाधिवेशनले निर्वाचित गरेको हो,’ थापालाई उदृत गर्दै एक नेताले भने, ‘अझै पनि भित्तामा पुर्‍याउने, घेराबन्दी गर्ने भन्ने नियत हो भने हामी पनि निर्वाचित महामन्त्री हौं, चुप लागेर बस्दैनौं ।’

उनले पार्टीको बैठकमा सभापतिलाई खुसी पार्न जे पनि भन्ने अभ्यास भएको आरोप लगाए । ‘सभापति खुसी बनाउन बोल्ने कुरा एउटा हो । तर, सभापतिलाई खुसी पारेर पार्टीको हित हुदैन । सभापति खुसी बनाउन गरिएको कुराले न सभापतिलाई फाइदा हुन्छ, न पार्टीलाई,’ उनले भनेका थिए, ‘यहाँ त्यस्तै धेरै कुरा भए । तपाईँहरू हेर्नुहोस्, अहिलेको सरकारले गरेको कुन चाहिँ कामले हामी आगामी निर्वाचन मत पाउँछौँ ?’

महामन्त्री थापाले पार्टीमा महामन्त्रीको भूमिका के हुने भन्दै प्रश्न गरे । ‘पार्टीमा महामन्त्रीको काम के हो ? कि सभापति र अन्यले गरेका कामहरू बोक्ने मात्रै हो ? ताली पड्काउने मात्रै हो ? बोक्ने र ताली पड्काउने मात्रै गर्न हामी महामन्त्री होइनौँ,’ उनले भने, ‘हिजो ओली सरकारलाई प्रश्न उठाएका हामीले अहिले सरकारमा गएर के गरेका छौं ?’महामन्त्री थापाले पार्टीकै नेतृत्वमा सरकार भए पनि पार्टीकै नेता कार्यकर्तालाई सरकार भएको अनुभूति नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *