पुराना नेताको चिन्ता, ‘कांग्रेस पार्टीजस्तो रहेन’

पुराना नेताको चिन्ता, ‘कांग्रेस पार्टीजस्तो रहेन’

काठमाडौँ — नेपाली कांग्रेसका पुराना नेताहरूले पार्टीभित्र आदर्श र इमानको राजनीतिक अभ्यास समाप्त भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेताहरूको चिन्ता छ, ‘नेपाली कांग्रेस पार्टी अब पार्टीजस्तो रहेन ।’ १४ औँ महाधिवेशनपछि राष्ट्रिय राजनीतिमा पार्टीको पोजिसन र पार्टी सञ्चालनका विषयको छलफलमा पार्टीका पुराना नेताहरूले पार्टीको भविष्यप्रति चिन्ता व्यक्त गरेका हुन् ।

नेता शेखर कोइरालाले आइतबार पार्टीका पुराना नेताहरूसँग छलफलको आयोजना गरेका थिए । त्यसक्रममा नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विजयध्वज चन्द, विपीन कोइरालालगायतले पार्टीमा पुरानो पुस्तालाई पाखा लगाएर अवमूल्यन गर्ने काम भएको गुनासो गरे ।

‘पार्टीभित्र आदर्श, इमान, त्याग र निष्ठाको राजनीति रहेन, पार्टी ठेकेदारी प्रथामा चल्न थाल्यो,’ छलफलमा पुराना नेताहरूले चिन्ता व्यक्त गरेको सुनाउँदै नेता कोइरालाले भने, ‘उहाँहरुले पुराना नेताहरूलाई पाखा लगाएर उनीहरूको योगदानको अवमूल्यन गर्ने काम भयो भन्ने गुनासो गर्नुभयो ।’

उनले पूराना नेताहरूले गठबन्धनको पुनर्मूल्यांकन गर्न सुझाव दिएको बताए । ‘संघ र प्रदेशको निर्वाचनपछि कांग्रेस पार्टीको अस्तित्व नै संकटमा पर्छ,’ नेताहरूले चिन्ता व्यक्त गरेका छन् । नेताहरूले पार्टीभित्रका हरेक अवसरमा न्यायोचित व्यवस्थापन हुनुपर्ने सुझाव दिएका छन् ।छलफलमा नेता कोइरालाले पुराना नेताहरूले आफ्नो लामो अनुभवले पार्टीको भावी कार्यदिशा तय गर्ने सन्दर्भमा सहयोग पुर्‍याउनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *