पल वाकर खेल्न चाहन्थेनन् ‘फास्ट एन्ड फ्युरियस’ श्रृंखला

पल वाकर खेल्न चाहन्थेनन् ‘फास्ट एन्ड फ्युरियस’ श्रृंखला

हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’ बाट चर्चामा आएका अभिनेता पल वाकरको निधन भइसक्यो। तर उनी धेरै दर्शकको सम्झनामा आज पनि छन्।

तर थोरैलाई मात्र जानकारी होला, एक समय यस्तो थियो जब उनी यो फिल्मको श्रृंखलामा फर्किने बारे हिचकिचाएका थिए।

एलए टाइम्समा प्रकाशित लेख उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ- पहिलो र दोस्रो श्रृंखलामा अभिनय गरेको एक दशकपछि पललाई ‘फास्ट एन्ड फ्युरियस’को चौथो श्रृंखलामा फर्कन भनिएको थियो। त्यो समय उनी कामभन्दा आफ्नो परिवारसँग समय बिताउन बढी रुचाइरहेका थिए।

प्रकाशित लेखअनुसार पललाई दर्शकले अझै पनि त्यो फिल्म हेर्न रुचाउँछन् भन्नेमा शंका थियो। उनी आफ्ना सन्तानको हेरचाहमा ध्यान दिन केन्द्रित थिए।

‘हामीले पहिले बनाएको फिल्मले एउटा युवा पुस्तामा ठूलो प्रभाव पारेको थियो। तर समयअनुसार कुनै पनि फिल्मको ट्रेन्ड परिवर्तन हुन्छ,’ पलले भनेका थिए, ‘मलाई यो फिल्म बासी लागिसकेको थियो। त्यसैले जब चौथो श्रृंखलामा मलाई फेरि ल्याउने कुरा भइरहेको थियो, मलाई लाग्यो उनीहरू मजाक गरिरहेका थिए।’

‘दोस्रो श्रृंखला रिजिल भएको नौ वर्षपछि पनि त्यो फिल्म हेर्ने एउटा पनि दर्शक छन् र,’ उनले सोधेका पनि थिए।

निर्माता नील मोरित्जले पललाई फिल्ममा फर्किन मनाउन नसकेपछि अभिनेता भिन डिजेलको सहायता लिनु परेको थियो। डिजेलले चौथो श्रृखंला ‘फास्ट र फ्यरियस’को अन्तिम भाग हुने बताएपछि मात्र पल अभिनय गर्न राजी भएका थिए।

पल त्यो समय आफ्नो परिवारलाई समय दिनुका साथै वन्यजन्तु संरक्षण र आफ्नै परोपकार संस्था चलाउने सोचमा थिए। तै पनि उनी फिल्म खेल्न सहमति भए।

‘फास्ट एन्ड फ्युरियस’को चौथो श्रृंखला रिलिज भएलगत्तै फिल्मले विश्वव्यापी चर्चा पायो र बक्सअफिसमा सुपरहिट भयो। त्यसले यो श्रृंखलाको नयाँ सुरुआतका लागि बाटो खोलिदियो। यसपछि पल अरू श्रृंखलामा पनि देखिए।

फिल्मको सातौं श्रृखंला निर्माण क्रममा अभिनेता पल वाकरको कार दुर्घटनामा मुत्यु भयो।

‘फास्ट एन्ड फ्युरियस’को नवौँ श्रृंखलाको ट्रेलर सार्वजनिक भइसकेको छ। कोरोना महामारीका कारण यो फिल्म २०२१ मा रिलिज हुने भनिएको छ।

Leave a Reply