पाइलट उत्सवका बाबुको कानमा जब पर्‍यो विमान बेपत्ताको खबर . . .

पाइलट उत्सवका बाबुको कानमा जब पर्‍यो विमान बेपत्ताको खबर . . .

काठमाडौंः आइतबार बिहान सबेरै पोखरामा रहेका पाइलट उत्सव पोखरेलले जाजरकोटमा रहेका बुबा मणिरामलाई फोन गरे। बाबुछोराबीच सुखदुख भयो। उत्सवले एकछिन पछि पोखराबाट जोमसोम फ्लाइट छ, त्यसको तयारी हुँदैछु भनेर बुबालाई सुनाए।

मणिरामले छोरालाई शुभयात्रा भने। दुई बाबुछोरा बीचको यो सम्बाद जाजरकोटको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर गिरीले प्रत्यक्ष सुनेका थिए। मणिराम नलगाड नगरपालिकामै श्रोत व्यक्तिको रुपमा कार्यरत छन्। मणिराम छोरासँगको कुराकानी पछि गिरीसँगै सदरमुकाम खलंगाबाट नलगाड नगरपालिकाको केन्द्रतर्फ लागे।

खलंगाबाट निस्किँदा छोरालाई शुभयात्रा भनेका मणिरामको कानमा नलगाड पुगेको केही समयपछि छोरा सवार विमान बेपत्ताको खबर पुग्यो। गिरीले फेसबुकमा लेखेका छन्, ‘आज बिहान मात्रै म र सहकर्मी स्रोतव्यक्ति सर मणिराम पोखरेल जाजरकोट खलंगास्थित रम्वा होटलमा बसिरहेका थियौं, करिब ५ बजेतिर मणि सरले पाइलट छोरा उत्सव पोखरेलसँग लाउड स्पीकरमा कुरा गर्नुभयो र मैले समेत सुने। एकछिन पछि पोखराबाट जोमसोम फलाइट छ अब तयारी हुँदैछु भन्ने दुई बाबुछोरा बीच कुरा भयो र सरले शुभयात्रा भन्नुभयो।’

गिरीले थप लेखेका छन्,’यी थिए सुखद वार्तालाप, त्यसपछि हामी दुई जना नलगाड दल्लीतिर हिड्यौँ। दल्ली पुगेको केही समयमा सर आतिदै मकहाँ आएर छोराले चलाएको जहाज सम्पर्क बाहिर भएको खबर गर्नुभयो। मेरो मनमा पनि तनाव सुरू भयो र गाडीको व्यवस्था गरेर नेपालगञ्जतिर पठाइयो। भगवानसँग पुकार छ, बाबु उत्सवसहित सबै जना जीवित फेला परून !’

आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको छ। उत्सव सोही विमानका को-पाइलट हुन्। मणिरामका दुई छोरामध्ये उत्सव कान्छा छोरा हुन्। उनी गत वैशाखमा मात्रै २५ वर्ष पुगेका छन्। दुई वर्ष पहिले फिलिपिन्सबाट पाइलट कोर्ष पुरा गरेर उनले तारा एयरमा जागिर सुरु गरेका थिए।

मणिरामका जेठा छोरा उदिप पोखरेल पनि फिलिपिन्समा पाइलट कोर्ष अध्ययन गरिरहेका छन्। छोराले चलाएको विमान बेपत्ताको खबर सुनेर नेपालगञ्ज जाँदै गरेका मणिरामले मुलुक प्रेससँग भने,’मेरो छोरासहित सबै सकुशल भेटिउन भनेर भवगानसँग प्राथना गरिरहेको छु।’ भाइ पाइलट बनेपछि बिएस्सी गरेका दाजु उदिपलाई पनि पाइलट बन्ने इच्छा जागेर फिलिपिन्स गएको मणिरामले सुनाए।

उक्त जहाज मनाङको थासाङ गाउँपालिका-३ लेते लार्जुङको खोंचमा दुर्घटना भएको नेपाल बायुसेवा संचालक संघले जनाएको छ। विमान प्रत्यक्ष रुपमा भने भेटिएको छैन। बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो। विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी गरी २२ जना सवार रहेको बुझिएको छ। मुलुकप्रेशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *