मुकुन र सुरविनाको ‘के माया लाग्छ र!’

मुकुन र सुरविनाको ‘के माया लाग्छ र!’

गीत सुन्नेसँगै हेर्ने विधा पनि बन्दै जाँदा नेपाली म्युजिक भिडियो निर्देशकहरुले प्रस्तुतिमा नयाँपन दिने प्रयास गरिरहेका छन्। गत शुक्रबार युट्युबमा सार्वजनिक नवीन चौहान निर्देशित के माया लाग्छ र? गीतमा यस्तै नयाँपन महसुस हुन्छ।

‘के माया लाग्छ र?’ नवीनले निर्देशन गरेको यसअघिको उनको चर्चित गीत ‘लुकी छिपी किन मायामा’ को ‘प्रिक्वेल’ हो। यसमा लुकिछिपी किन मायामाको कथा जहाँबाट सुरु हुन्छ त्यो भन्दा अगाडिको कथा देखाइएको छ।

पुरानो समयको परिवेश चित्रण गरिएको भिडियोमा मुकुन भुसाल र सुरविना कार्कीको अभिनय छ। ‘लुकी छिपी किन मायामा’ गीतमा यी दुई पात्र मायामा डुबिसकेको देखाइएको छ। के माया लाग्छ र? गीतमा भने यी दुई पात्रबीच अंकुराउँदै गरेको मायाको भावको चित्रण छ।

क्यामेरा र कन्सेप्टसँग खेल्ने शिल्प भएका नवीन चौहानको दक्षता यो गीतको भिडियोमा मजैले देखिन्छ। कलाकार मुकुन र सुरविनाको अभिनयले गीतको भावलाई उतारेको छ।

भीडियोमा यी दुई पात्र पुराना दिनको सम्झना फर्कन्छन्। मनमनै मायामा परेका उनीहरु इशाराले एकअर्कासँग र आफैसँग बोलिरहेका हुन्छन्। निशान भट्टराई र एलिना चौहानको स्वरको यो गीत हेर्दाजस्तै सुन्दा पनि मिठो लाग्छ।

आर्टमाण्डु नेपालको प्रस्तुति रहेको यो गीतमा अंकितबाबु अधिकारीको संगीत छ। गीतको संगीत संयोजन कुशल सिंहले गरेका छन्।झर्रो शब्द प्रयोग गर्दै मीठो गीत लेख्ने हर्क साउदको शब्दको यो गीतलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। हर्क र नवीनले यसअघि चर्चित गीत बटौलीमा सहकार्य गरेका थिए।

Leave a Reply