प्रधानमन्त्री ओलीले कांग्रेसको साथ मागे

प्रधानमन्त्री ओलीले कांग्रेसको साथ मागे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास थालेका छन् ।  सो क्रममा शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

भेटवार्ताबारे दुवै पक्षले औपचारिक जानकारी नगराएको भए पनि कांग्रेसको उच्च स्रोतले भेट भएको जानकारी दियो । “हिजो प्रधानमन्त्रीज्यू र सभापति देउवाबीच बालुवाटारमा भेट भएको हो । तर, भेटमा के कुरा भयो भन्नेबारे चाहिँ विस्तृतमा थाहा भएन,” देउवा निकट ती नेताले भने ।  स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेकपा विभाजनको अवस्थामा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेसको साथ खोजेका थिए । तर, देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको देउवा निकट ती नेताले बताए ।

नेकपाभित्र विवाद चर्कंदै जाँदा अहिले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याउनसक्ने विश्लेषण गरिएको छ ।  सो अवस्थामा नेकपा विभाजन भएको अवस्थामा ओलीलाई सत्तामा टिकिरहन प्रमुख प्रतिपक्षी दलले साथ दिएमा सहज हुने बुझाइमा ओली देखिएका छन् ।  त्यसका लागि उनले कांग्रेससँग छलफल अघि बढाएका हुन् ।

कांग्रेसभित्र ओलीको सरकारलाई साथ दिने कि नदिने विषयमा दुइवटा मतहरु छन् ।  सभापति देउवा र ओलीबीच पटक–पटक यसअघि पनि भेटवार्ता हुँदै आएको छ ।  तर, त्यस्ता भेट अपारदर्शी हुने गरेको भन्दै कांग्रेसकै नेताहरुले प्रश्न उठाउँदै आएका थिए ।  देउवा ओलीप्रति उदार देखिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने ओलीप्रति अनुदार देखिन्छ ।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कांग्रेसका नेताहरुसँग संवाद अघि बढाएकी छन् ।  सभापति देउवा निकट रहेका र आफ्नो नातेदार पर्ने ज्ञानेन्द्रबहादुर कार्कीसँग भण्डारीले संवाद गरिरहेको स्रोतको दाबी छ ।  ओली र देउवा भेटबारे प्रधानमन्त्रीको सचिवालय र कांग्रेसले औपचारिक रुपमा भने जानकारी गरएको छैन ।

Leave a Reply