पञ्चायती सरकार र कम्युनिष्ट सरकारमा कुनै फरक छैन : वरिष्ठ नेता पौडेल

पञ्चायती सरकार र कम्युनिष्ट सरकारमा कुनै फरक छैन : वरिष्ठ नेता पौडेल

काठमाडौं :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्दलीय पञ्चायती सरकार र वर्तमान कम्युनिष्ट सरकारमा कुनै भिन्नता नरहेको बताएका छन् ।

नेपाली कांग्रेसको देशव्यापी विरोध प्रदर्शन अन्तर्गत आज काठमाडौंको शान्तिबाटिकामा आयोजित विरोधसभालाई संबोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, पञ्चायती सरकारमा हामी रुख रोप्दा टाउको फोरिन्थ्यो, कम्युनिष्ट सरकारमा पुल बनाउँदा करङ भाँचिन्छ ।

वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले लोकतन्त्र सहनै नसकेको बताए । लामो संघर्षपछि प्राप्त लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेको बताउँदै उनले भने ‘लोकतन्त्र सहन नसक्ने कुनै पनि शक्तिसँग हाम्रो असहमति छ’ ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेस सडकमा आएको बताउँदै सरकारलाई सचेत हुन सुझाब दिए । वर्तमान सरकारका बद्मासी भनिसाध्य छैन भन्दै पौडेलले संविधानले दिएका अधिकारबाट पनि सरकारले नै जनतालाई बन्चित गरेको दाबी गरे ।
यो सरकार मुलुकमा सर्वसत्तावाद लाद्न उद्धत छ, उनले भने, कुनै पनि किसिमको सर्वसत्तावाद नलादियोस् भनेर जनता सडकमा ओर्लेका हुन्।

सरकार भ्रष्टाचारमा डुबेको छ भन्दै पौडेलले सरकारी ढुकुटीमा भइरहेको ब्रह्मलुट रोक्न पनि आवाज उठाउनु परेको बताए । नेकपाकै बहुमत नेताहरुले यो सरकार नालायक छ भनिसके भन्दै पौडेलले थपे, अब हरेक नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको छ ।

नेकपामा देखिएको विवादलाई संकेत गर्दै नेता पौडेलले विधिसम्मत रुपमा प्रधानमन्त्री परिवर्तन गर्न सुझाब दिए । संविधान अनुसार सरकार परिवर्तन गर्ने हो, उनले भने, संसद बोलाउनुस् र प्रधानमन्त्री फेर्नुस् । विकास टाइम्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *