कोरोनाबाट काभ्रेमा पत्रकारसहित दुई जनाको मृत्यु

कोरोनाबाट काभ्रेमा पत्रकारसहित दुई जनाको मृत्यु

काठमाडौँ :  कोरोना भाइरसबाट काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९ वर्षिय एक पुरुष छन् ।

मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक थिए । उनको काठमाडौको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो। चौलागाईलाई गत असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्नुभएका चौलागाईलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको मृतकका भाई दिपकले बताउनुभयो । दुई दशकभन्दा बढी काभ्रेपलाञ्चोकमा पत्रकारितामा सक्रिय चौलागाईको पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।

हालसम्म काभ्रेपलाञ्चोकमा १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार विगत २४ घण्टामा २८ पुरुष र १६ महिला गरी ४४ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । आज पाँच सङ्क्रमित कोरोनामुक्त भई घर फर्किएका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक हजार ६०६ पुगेको छ । यसमध्ये ६७ प्रतिशत अर्थात् एक हजार १०३ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४५ प्रतिशत अर्थात २१६ बनेपा नगरका हुन् । धुलिखेल नगरमा ९५, पनौतीमा ८९, पाँचखालमा १९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा २२ तथा भुम्लु गाउँपालिकामा एक, रोशीमा छ, बेथानचोकमा चार, खानीखोलामा एक सङ्क्रमित रहेका छन् ।

यहाँको दुई स्थानीय तह चौंरीदेउराली र महाभारत गाउँपालिका कोरोनामुक्त छन् । हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ९० र होम आइसोलेशनमा ३९२ उपचाररत रहेको पोष्टले जनाएको छ ।

Leave a Reply