आईपीएल: दिल्लीलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

आईपीएल: दिल्लीलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

काठमाडौं : मुम्बई इन्डियन्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले ।

दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए । यस्तै इशान किशनले २८ रन जोडे । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १र१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए । अजिन्का रहने १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस १३ रन जोड्दा आउट भए । एलेक्स केरी १४ रनमा अविजित रहे ।

मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।

दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।

Leave a Reply