निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता

काठमाडौँ:   मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा  निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ता भएको छ । जनताको बहुदलीय जनवाद जबजका प्रवर्तक भण्डारीको विचारधारालाई आत्मसात् गरेर हिँड्ने उदेश्यका साथ नयाँ पार्टी दर्ता गरिएको नयाँ पार्टीका सदस्यहरुले बताएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ गते एकीकरण भएपछि नेकपा (एमाले) नाममा निर्वाचन आयोगमा कुनै पनि दल नरहेको अवस्थामा गत आइतबार नेकपा एमाले नामबाट नयाँ दल दर्ता भएको हो ।

नेकपा (एमाले) ले निर्वाचन आयोगमा दल दर्ता गर्दा दलको झण्डा हसिया-हतौडा अंकित नै राखेको छ भने चुनाव चिन्ह उदाउँदाे सूर्य राखिएको छ ।

दलको अध्यक्षमा सन्ध्या तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय रहेका छन् । २४ सदस्यीय कार्य समिति बनाइएको एमालेको ५ सय ७२ सदस्य रहेको सूची पनि आयोगमा बुझाइएको छ ।

‘हामी सबै मदन भण्डारी विचारधारालाई आत्मसात् गरेर हिँड्नेको प्रयास हो यो ’ कार्यसमितिका एक सदस्यले न्यूज २४ लाई बताए । उनले नेकपा (एमाले) मा सबै युवाहरु रहेको र कुनै पनि दल र समूहमाथि वैरभाव नभएर मदन भण्डारीको विचारधाराबाट विचलित नभइ जनतामा माझ जान दल दर्ता गरिएको बताए ।

उनले अहिले आफूहरुको प्रयास सानो समूहबाट सुरु गरिएको र यसलाई चाँडै राष्ट्रव्यापी बनाइने पनि बताए । सदस्यहरुमा पूर्व एमाले निकट विद्यार्थी संगठनमा रहेर काम गर्नेहरुको बाहुल्य बढी रहेको पनि उनले बताए । दल दर्ताको प्रमाण लिएर सबैजना औपचारिकरुपमा सार्वजनिक हुने कार्यक्रम रहेको पनि ती सदस्यले बताए ।

यता निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने दल दर्ता नभएको तर नेकपा (एमाले) नाममा दल दर्ताका लागि निवेदन भने परेको बताउनुभयो । उहाँले दर्ताका लागि विभिन्न प्रावधान पूरा गर्नु पर्ने हुँदा अहिले नै दर्ता भएको भन्न नमिल्ने र निवदेनमाथि आवश्यक छानबिन हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *