कोरोना जितेका अध्यक्ष भन्छन्: ‘कोरोनाको उपचार भनेको उच्च मनोबल र साहस नै हो’

कोरोना जितेका अध्यक्ष भन्छन्:  ‘कोरोनाको उपचार भनेको उच्च मनोबल र साहस नै हो’

कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संसारभरि बढिरहेका थिए । यसको प्रभावले नेपाल पनि अछुतो रहेन । झन् सामाजिक जिम्मेवारी वहन गरिरहेका स्थानीय जनप्रतिनिधि यससँग अझ बढी भिडिरहेका थिए । यसैबीच गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले पनि कोरोना भाइरसको संक्रमण र यसबाट पर्ने शारीरिक– मानसिक असर राम्रैँसँग अनुभव गर्न पाए ।

अध्यक्ष भूपाल पोखरेल भन्छन्, ‘कोरोना भाइरसले पारेको प्रभाव र त्यसबाट जनसमुदायलाई कसरी जोगाउने भन्ने सन्दर्भमा गाउँपालिकाको निर्णयअनुसार विभिन्न कामहरु भैरहेका थिए । विभिन्न विकास निर्माण कार्यको अनुगमन र निरीक्षण, क्वारेन्टाइनको व्यवस्थापन, कृषि तथा पशुपालन सम्बन्धी कार्य, चालु वर्षको आयोजनाहरुको कार्य प्रगति, राहत वितरण, कार्य स्थलमा जानेहरुको उद्दार, लगायतका गाउँपालिका भित्रका नियमित कामकाजमा म लगायत उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक स्वयमसेवक लगायत हामी सबै महामारी नियन्त्रणमै लागि परेका थियौँ ।’

त्यसै क्रममा नेपालका विभिन्न जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र हुँदै थियो ।गुल्मी जिल्लाकै मदाने गाउँपालिकाका एक जना शिक्षकमा संक्रमणबाट मृत्यु समेत भयो । धुर्कोट छिमेकी गाउँपालिका भएकोले गर्दा समेत थप उच्च सतर्कता अपनाउँदै कामकाज गरिरहेका थिए । उनी सबै ठाउँमा जाँदा मास्क प्रयोग गर्थे, भौतिक दूरी पनि राख्थे ।

उनी कार्यालयमा पनि सुरक्षाको सबै प्रबन्ध मिलाएर काम गर्थे । लकडाउनको बीचमा पनि विकास निर्माणका काम रोकिएका थिएनन् । भौतिक दूरी कायम गर्दै कामदारलाई कार्यस्थलमै बसाइको व्यावस्थापन गरिएको थियो । ‘यसै क्रममा कामकाजमा कार्यलयभन्दा बाहिर धेरै समयदेखि व्यस्त भैरहेको र छिमेकी गाउँपालिकामा संक्रमण देखिएकोले हाम्रो कामको जोखिमलाई मध्यनजर गर्दा केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय व्यापारी लगायतको जेठ १० गते धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटि परीक्षण गरियो,’ उनी भन्छन् ।

उक्त परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखियो । अर्को दिन अर्थात जेठ ११ गते उनको र आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिको स्वाब संकलन गरी भैरहवा पठाइयो । भारतबाट आई जैशिथोक र वाग्लाको क्वारेन्टाइनमा बसेका तीन जनाको समेत स्वाव संकलन गरी जेठ ९ गते पठाइएको थियो ।

जेठ ११ गते जिल्ला समन्वय समिति गुल्मीले भारतबाट आएकाको व्यवस्थापन लगायतका विषय र जिल्लाको कोभिड–१९ प्रतिकार्य योजना निर्माणका लागि जिल्लामा बैठक राखेको थियो । त्यो बैठकमा सहभागी भई उनी ११ गते कार्यस्थल, बर्वोट फर्किए । १२ गते दिनभर भैरहवा पठाएको स्वाबको रिपोर्ट पर्खाइमा कोठामै बसेका थिए । दिनको करिब ५ः३० बजेको थियो, जिल्ला अस्पतालका प्रमुख डा. उत्तम पच्याको फोन आयो ।

पच्याले भने, ‘तपाई कता हो ?’ भूपालले भने, ‘कोठामै छु ।’ डा. पच्याले तपाईंहरु छुट्टाछुट्टै बस्नुस् भने र फोन राखे ।

त्यसपछि भूपालको मनमा अनेकन कुरा खेल्न थाले । उच्च सतर्कता अपनाउँदा अपनाउँदै कसरी कोरोना लाग्यो होला भन्ने प्रश्न उनको मनमा उब्जिए । उनी त्यसको केही समय पहिला उपाध्यक्षसँग पनि फोनमा के रिपोर्ट आउने हो भन्दै कुरा भइरहेको बताउँछन् ।

पोखरेल कोरोनाको सन्दर्भमा जिल्ला प्रतिकार्य योजनामा धुर्कोटमा २० वेडको आइसोलेसन निर्माण गर्ने निर्णय भएकोले वडा नं. ४ को बर्वोट नजिकै रहेको देविस्थान प्राथमिक विद्यालयमा आइसोलेसनको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइरहेका थिए । उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षलाई फोनमा पहिले त हामीहरु नै बस्नुपर्ने जस्तो छ भन्दै वडा नं. ४ का वडाअध्यक्ष मानबहादुर कुँवरसँग फोनमा हाँसो समेत गरे । तर त्यो ठट्टा र हाँसो एकैछिनमा यथार्थमा परिणत भयो ।

डाक्टरको भनाई र भूपालको मनमा उब्जेका अनेकन प्रश्नको एउटै मात्र उत्तर थियो– भोलिदेखिको बसाई आइसोलेसनमा हुने भयो । स्थानीय रुपमा बनाइरहेको आइसोलेसनको निर्माण कार्य भने सम्पन्न भइसकेको थिएन, तर उनी जिल्ला स्थित आइसोलेसनमा भने जाने मनस्थितिमा थिएनन् । त्यसै सिलसिलामा पूर्वमन्त्री गोकर्ण विष्ट, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य दिनेश पन्थी लगायतका व्यक्तित्वहरुले उनलाई फोन गरे ।

उनी फोनमा कुरा गर्दै सभा हलसम्म पुगेका थिए । सबैको एउटै प्रश्न थियो कति जनाको स्वाव संकलन गरी पठाउनु भएको हो ? क–कसको हो ? तर सबैले उनकोपोजेटिभ भनेर भन्न सकेनन् । तर कोरोनाको बारेमा उनलाई सम्झाउन थाले । त्यतिबेला बेलुकाको करिब ७ः३० भैसकेको थियो ।

उनले जिल्ला जनस्वास्थ्य प्रमुखलाई फोन गरे, ‘सर रिपोर्ट के आयो ?’

जिल्ला जनस्वास्थ्य प्रमुखको जवाफ थियो, ‘तपाईंलगायत दुई जनालाई पोजेटिभ देखियो । छुट्टै बस्नुहोस् ।’

उनी ११ गते साँझदेखि छुट्टै बसेको थिए । उनी आफैँले कुनै लक्षण नदेखिएको र आइसोलेसनको निर्माण कार्य सम्पन्न नभइसकेको हुँदा डाक्टरहरुको प्रत्यक्ष सम्पर्कमा रहेर आफू बसिरहेको ठाउँमा बस्ने निर्णय गरे र सल्लाह समेत लिए । आफू संक्रमित भएपछि उनलेले आफ्नो परिवार, उपाध्यक्ष तथा उनीसँग सम्पर्कमा आएका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई छुट्टै बस्न अनुरोध गरे ।

उनले आइसोलेसनको कार्य तीव्र रुपमा अगाडि बढाउने समेत सल्लाह गरे । त्यसैगरी स्वास्थ्यकर्मीहरुलाई फोन गरी उनी संक्रमित भएको र थप संक्रमण फैलिन नदिन आवश्यक तयारीमा लाग्न आग्रह गरे । घर परिवारका सबै सदस्यलाई आफू संक्रमित भएको खबर सुनाए । उनलाई सबै परिवारका सदस्यहरुले उच्च मनोबलका साथ बस्न सुझाव दिए । जसबाट पनि उनलाई थप उर्जा प्राप्त भयो । आफैँ संक्रमित भएपछि दैनिकी फरक बनाउने सोच बनाए । यो समयसम्म पनि उनी एक्लै थिए ।

त्यसपछिको उनको दैनिकी
हरेक दिन उनी बिहान ५ः३० मा उठेर आफ्नो दैनिकी कर्म सुरु गर्थे । ६ बजेदेखि ६ः३० सम्म समाचार सुन्थे । समाचार सुनेपछि योगा गर्न सुरु गर्थे । करिब–करिब ७ः३० सम्म योगा गर्नमा व्यस्त हुन्थे । अनि ७ः३० देखि ८ बजेसम्म उनको चिया तथा खाजा (अण्डा, चना, रोटी) खानमा समय व्यतित हुन्थ्यो ।

८ बजेपछि बिहानको खाना बनाउन तयारी गर्थे । १० बजे बिहानको खाना खाइ सक्थे । खानामा हरियो तरकारी, दाल, भात, सलाद लगायतको प्रयोग गर्थे ।

मनोबल र कौतुहलता
संक्रमित हुँदाको दिनदेखि आजसम्म उनलेले कहिले पनि म संक्रमित छु, के होला ? कसो होला ? भन्ने सोचेनन् । सधैँ उच्च मनोबल राखे । शुभचिन्तकबाट विभिन्न सामाजिक सञ्जालमा लेखिएका कविता, लेख, विभिन्न सुझाव तथा सान्त्वनाले झनै उत्साहित भए । धेरै विदेशमा रहने साथीसँग त्यहाँको कोरोना व्यवस्थापनको विषयमा पनि जानकारी लिए ।

धेरै ठाँउहरुमा मैले अपनाएको विधि पनि प्रयोगमा रहेछ । रहस्यमय रुपमा मलाई देखिएको यो संक्रमण मेरो सम्पर्कमा आउनुभएका अरुमा होला वा नहोला भन्ने कौतुहलता मेरो मनमा छाइरहन्थ्यो । उनी आफैँ सुरक्षित भएर हिँड्ने भएकोले मबाट अरुमा संक्रमण भएको छैन भन्नेमा धेरै विश्वस्त थिए । दिनहरु बित्दै गए कुनै लक्षण बिना नै मेरा दुई वटा रिपोर्ट नेगेटिभ आए । साथीहरूलाई भन्थे, मैले एक जनालाई पनि सारेको छैन ।

नभन्दै उनको कन्ट्याक ट्रेसिङमा आएका सबैको रिपोर्ट नेगेटिभ आयो । कोभिड–१९ को एक मात्र उपचार उच्च मनोबल भएकोले उनी त्यसैमा लागि रहे । उनको निश्कर्ष, कोरोनाको उपचार भनेको उच्च मनोबल र साहस नै हो ।

संक्रमण र गाउँको बसाइ
उनी अचम्मित पर्थे सुरुमा कोरोना आउँदा चीन, युरोप, अमेरिकामा संक्रमितको उपचारमा प्रयोग भएका सम्पन्न हस्पिटल, भेन्टिलेटर देख्दा र नेपालमा यस्तै गरि उपचारको सम्भावना सोच्थे । हुन त नेपालमा अन्य देशको जस्तो माहामारी र भाइरसको प्रकृति फरक छ । तै पनि भनिन्छ तर सुरुको गाउँको आतंक वर्णन गर्न सकिन्न ।

उनले संक्रमित भएपछि पनि गाउँमै बस्दा समाजमा रहेको कोरोनासम्बन्धी त्रास र आतंक धेरै मात्रामा कम भएको महसुस गरे । कोरोनाको बारेमा धेरैले बुझ्न नसक्दा सामाजिक रुपमा बहिष्कार गर्ने, हेर्न समेत हुन्न भन्ने सोचाई थियो । अहिले भने त्यो सोचाईको अन्त्य भएको छ । संक्रमितको नजिक समेत जान हुँदैन भन्ने भय थियो, गाउँमै बस्दा छिमेकी बुबा–आमा, दाजुभाई तथा दिदी बहिनीहरु समेत भेटघाट गर्न आउदा स्वयं मेरो मनोबल उच्च भयो नै, आउनेहरुमा पनि कोरोना सामान्य रहेछ भन्ने बुझाई भयो ।

उनलाई परैबाट भेटेर फर्किनेहरु कोही आँसु पुछ्दै जान्थे। उनलाई यो कुराले मनमा छुन्थ्यो । नरमाइलो लाग्थ्यो । सायद उनीहरु उनी छिटोभन्दा छिटो निको होऊन् भन्ने सोच्थे ।
केही भएन, भुपाल त झन् फुर्तिलो हुुँदै गए । घरमा गएर सबैले यस्तै खबर सुनाए । यसरी उनले कोरोनाबारे बढिरहेको त्रासलाई नजिकबाट अनुभव गरे । कम गराएको महसुस गरे । उनले बल्ल बुझे, ‘सामाजिक र पारिवारिक सहयोग यसको महत्त्वपूर्ण औषधी हो ।’

उनको गाउँको बसाइ ठूलो उपलब्धिमूलक रहन पुग्यो । गाउँमै बस्दा स्थानीय उत्पादन ताजा र अर्गानिक खाना खान पाउँदा त्यसको आनन्द बेग्लै हुँदो रहेछ भन्ने बुझे । त्यसैले संक्रमित हुँदैमा आत्तिएर अस्पताल जानु पर्दैन भन्ने उनको राय रहेको छ । उनी भन्छन्, ‘कुनै लक्षण देखिएको छैन भने भौतिक दूरी कायम गरेर घरमा छुट्टै बस्दा दुई हप्तामा निको हुन्छ ।’ पोखरेलको बुझाइमा गाउँको हावापानी, समाज, घर परिवार तथा छिमेकीको ठूलो भूमिका हुँदो रहेछ ।

गाउँले जडिबुटीको प्रयोग
यो रोगको औषधी नभएको हुँदा उनले आत्मबल र गाउँले जडिबुटीलाई औषधीको रुपमा लिए । उनले संक्रमण हुँदाको दिनदेखि बेसार, नुन पानी धेरै पिए । त्यसको साथमा समुदायबाट ल्याएका विभिन्न जडिबुटीहरु कागतीको फल र पात, गुर्जो, बोझो, तुलसीको पात, बामरी, पुदिना, अदुवा, लसुन लगायतका जडिबुटी दैनिक रुपमा प्रयोग गरे । यी जडिबुटीहरुको प्रयोगले रोगसँग लड्न सक्ने क्षमताको विकास हुन्छ । जुन उनी आफैँले अनुभव गरे ।

रोगलाई जित्ने सबैभन्दा राम्रो उपाय भनेको आफ्को व्यक्तिगत सरसफाईमा ध्यान दिनु हो जस्तो उनलाई लाग्यो । उनले प्रत्येक दिन सकेसम्म तातो पानी तताएर नुहाए । व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिए । कोठा र भान्छा कोठाको सरसफाईलाई दैनिक रुपमा निरनतरता दिए । शौचालयको सरसफाईलाई पनि उत्तिकै ध्यान दिएर सफा राखे ।

केही कुराले दुःखी बनायो
उनलाई, मदाने र धुर्कोटमा कोरोना संक्रमण देखिएपछि जिल्लाकै सदरमुकाम तम्घासमा धुर्कोट र मदानेका मानिसहरु जाँदा गरिने व्यवहारमा फरकपन, विभिन्न संघ संस्थाले गरेको बजार बन्द र उनको गाउँको बसाइलाई लिएर केही व्यक्तिहरु जिल्लामा बसेर गरेका टिका–टिप्पणीले साँच्चिकै गाउँभन्दा सहरका बुद्धिजिवीमा देखिएको भय, त्रास र अहमताको व्यवहारले निकै दुःख लाग्यो । विपत्तिमा आफ्नो गाउँ–ठाउँ जति सहयोग हुन्छ अन्य ठाउँबाट कम हुँदो रहेछ । विशाल छाती र मायालु मुटु भएका व्यक्ति गाउँमा बस्दा रहेछन् । सामाजिक भावना, सहयोगी मन, दुःख सुखमा साथ त गाउँमै पाइदो रहेछ भन्ने कुरा उनले यो बसाइमा महशुस गरे ।

यो समयले उनलाई के सिकायो ?
यो समयमा उनलाई रोगसँग लड्नु थियो । यो अवस्थामा आफ्नो गाउँ–ठाउँ र भूमिको लागि सबै कुराले सम्पन्न बनाउन अझै प्रेरित गरायो । कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना गर्ने, गाउको आत्मनिर्भरतादेखि भावनात्मक रुपले पनि आफू बसेको ठाँउप्रति र यहाँको समग्र जनताको जिवनस्तर उकास्न र सर्वपक्षीय विकासमा लाग्न अझै उर्जावान् बनायो । उनले हरेक् बिपत्तीमा सम्भावना र चुनौती दुवै रहेका हुँदा चुनौतीको सामना गर्दै सम्भावनालाई अवसरको रुपमा लिए ।

यो समयमा सबैबाट पाएको माया, प्रेरणा, साहस, सहयोगको साथमा उनले कोरोना जितेको दिनसँगै उनको कन्ट्रयाक ट्रेसिङमा आउने सबैको रिपोर्ट नेगेटिभ आउँदा र उनरो सावधानीप्रति निकै खुशी लाग्यो ।

उनको बुझाइमा कोरोना
आफैँले नेतृत्व गरेर आम जनसमुदायलाई संक्रमणबाट जोगाउन संघ, प्रदेश र गाउँपालिकाले गरेका विभिन्न निर्णय कार्यान्वयन गर्ने क्रममा उनी आफैँ संक्रमित हुन पुगे । उनी यो संक्रमणका विरुद्ध लडाइ लड्दा सजिलै जित्न सफल भए । उनको बुभाइ अनुसार यो जितका लागि पहिलो कुरा उच्च मनोबलको साथै बसाई व्यवस्थापन, गुणस्तरीय र सन्तुलित खाना, सरसफाई र स्थानीय जडिबुटीहरुनै प्रमुख हुने रहेछ ।

समाजमा जुन आतंक, त्रास रहेको छ, पहिले ममा पनि थियो । तर, अहिले यो त्रास उनको मनबाट हटेको छ । उनी भन्छन्, ‘यो भाइरस सामान्य नै रहेछ । संक्रमित जो–कोही पनि हुन सकिन्छ । गर्भवती, सुत्केरी दीर्घरोगी र जेष्ठ नागरिकहरुले पनि केही मेहनतका साथ जित्न सक्नुहुन्छ । तर उहाँहरुलाई संक्रमित हुनबाट जोगाउनु नै तपाई हाम्रो महत्वपूर्ण भूमिका हुनुपर्छ ।’

प्रचार गरिए जस्तो यो भाइरसलाई जित्न गाह्रो छैन । भौतिक दूरी कायम राख्दै सुरक्षाका सबै विधि अपनाएर उच्च सतर्कताका साथ नियमित कामकाज, पेशा, व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्छ । कामना न्युजबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *