चितवनमा सवारी दुर्घटनामा ३२ को मृत्यु, १७५ घाइते

चितवनमा सवारी दुर्घटनामा ३२ को मृत्यु, १७५ घाइते

दसैँ अवधिभरमा चितवन जिल्लामा सवारी दुर्घटनाबाट चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दसैँको घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्ममा १७ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र ५२ जना घाइते भएका हुन् ।

असोज १ गतेदेखि २८ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ३१ दुर्घटना भएको देखिन्छ, जसबाट ८ जनाको मृत्यु र ११७ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच जना पैदलयात्री, दुई जना मोटरसाइकल चालक र एक जना साइकल चालक रहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्षको तुलनामा यसवर्षको असोजमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढी हो ।

गत वर्ष असोज महिनाभरमा जम्मा ४ जनाको मृत्यु भएको थियो । तर, यसवर्ष दसैँ अवधिमा मात्रै चार जनाको मृत्यु भइसकेको छ । गत वर्ष असोज महिनाभरमा जम्मा १६ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।
चालू आर्थिक वर्षको तीन महिनाको तथ्याङ्क हेर्ने हो भने सवारी दुर्घटनाबाट ३२ जनाको ज्यान गएको छ । चालू आर्थिक वर्ष लागेपछि साउन र भदौ महिनामा १२/१२ जनाको मृत्यु भएको छ । साउन महिनामा २१ वटा दुर्घटना भएको थियो भने भदौ महिनामा २६ वटा दुर्घटना भएको थियो । यस्तै, उक्त दुर्घटनाबाट साउन महिनामा २५ र भदौ महिनामा ३३ जना घाइते भएका थिए । साउन र भदौ महिनाको तुलनामा असोज महिना लागेपछि बढी दुर्घटना भएको देखिन्छ ।

सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रनि गिरीले जानकारी दिए । चालू आर्थिक वर्षको असोज महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने पनि २१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै बस ८ वटा, ट्रक ६ वटा, माइक्रो दुईवटा, कार/जिप/भ्यानलगायतका साना सवारीसाधन चारवटा, अटो ट्याम्पो तीनवटा र शारीरिक शक्तिबाट चल्ने दुईवटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *