मैले सम्झेको दशैँ

मैले सम्झेको दशैँ

तपेन्द्र बिष्ट,
बच्चाले खेलौना पाएकाे र गुमाएको चिज पुन भेट्टाए को खुशी झै।विविध खुशिको बहार,उल्लास ,उमंग बोकेर गाउँ घरको अंगालोमा दशै प्रवेश गरिरहेको होला।गाउँ भरिका बच्चा बच्चि ,बुढा पाखा ,तरुना तरुनी सबैलाई दशैको रौनकले तताईरहेको होला।धेरै अन्तराल पछि भेट्टीएका आफ्न्तजन,साथिसंगि, इष्टमित्र ,दिदिबहिनिहरुको बिचमा सुख दुखका विविध कुराहरु बाडफाड भैरहेका होलान।खेतबारिको अन्नबाली भित्र्याउने चटारो कतिपयले सकि सके होलान भने कतिपयको बाकी नै हुन सक्छ।धेरैको आगनमा कराई रहेका होलान् खसी- बोकाहरु। चौताराको पिपलको हागामा बाबियाको माली बाटेर पात छुदै रमाउदै होलान तरुना तरुनि साथिहरु।घरको एक अँध्यारो कुनामा अङ्कुराई रहेका होलान मकै र जौका जमराहरु।बिदा मिलाउन सकेर परदेशबाट फर्किएका दाजुभाईहरु घरपरिवारलाई नयाँ नयाँ लुगा र मिठा मिठा खानेकुरा बाड्दै होलान।

तर मेरो भने दशै तिहारले यसरी नै परदेशी भुमिमा थुप्रै बर्सदेखी स्मरणको अभिलेख मात्र कोट्याउछ।र बाधेर राखे झै हुन्छ परदेशी भुमिले यो जिन्दगी विना अपराध कुनै कारागर भित्र कुनै साघुरो संकटग्रसित परिधि भित्र।अनि कुनै बेला लाग्छ फेरि यो मैले कर्मभुमीप्रति लगाएको बनावटि मिथ्या आरोप मात्र हो।म त आफ्नै विवशता र बाध्यताले बाधिएको पो हु त! फेरि लाग्न थाल्छ यो स्वभाविक पनि त हो ,परदेशमा बाध्यताको अगेनामा बसेको जिन्दगिले यस्ता थुप्रै जलनहरु सहनु पर्छ।दुख पीडाको कराई बनेर बसेको मन वियोगको ज्वालाले तातिनुपर्छ ,स्मृतिका फिल्काहरुले सल्किनुपर्छ र आँसुका थोपाहरुले उम्लेर आखाको ढकनिबाट छताछुल्ल पोखिनुपर्छ। अनि पो हलुँगो हुन्छ हृदय र चिसिन्छ मनको तातो कराई। यसरी अर्धरातमा ब्युझेको बखत कमजोर मनको एक फेर बलियो पार्दै पल्टि रहेको थिए । शिरानको छेउमा निदाएकाे मोबाईल पनि ब्युझियो र कराउन थाल्यो।जुन काममा जाने समयको संकेत थियो।मैले जुरुक्क उठेर हतपत जिउमा लुगाहरु झुन्ड्याए। घुडाको गोलीगाँठा सम्म पुग्ने रबरका बुट खुट्टामा छिराए।दायाँ हातको हत्केला अर्ध मुठ्ठी पारेर पुर्ण रुपले नखुलेका आखाहरुमा रगटे र निस्किए कोठाबाट।सधैं झै सुर्यको उज्यालो धर्तिमा पोखिएकै थिएन ।म भने त्यहीँ एक बन्द कोठामा प्रवेश गरे ।

जहाँ माथिल्लो पट्टिको भित्ताभरी बिजुलिका चिमहरु चम्किरहेका छ्न।थुप्रै प्रजातिका बडेमानका विद्युतिय मेसिनहरु भुइँको सतहमा टेकेर छेउछाउका भित्ताहरुमा अढेस लागेका छन। जसलाई यो शरीरले निरन्तर दिनभर मेसिन बनेरै चलाउनुपर्छ।आज पनि शुरु भयो त्यही काम।छिनभरमै शरिरबाट पसिनाका छहराहरु निधार देखि पैतालासम्म अविरल चुहिन थाले। मेसिनको चर्को आवाज कानका भित्र भित्रसम्म ट्वाङ्ट्वाङ ठोकिन थाल्यो।तर मनले पुन सम्झियो घरदेशको दशै।अनि ती दमाहा, झ्याली,ट्याम्को,सहनाई जस्ता मंगलम बाजा गाजाको मिठो धुनहरु।र सम्झिन थाल्यो तातो फलाममा हात चुढिने गरि हम्मरले बझार्दा दिदिले ओखलमा कुटेको गैरिखेतको धानको चिउराको वासना।भिमकाय कराई जस्तो भाडोमा फलामको तातो झोल घोल्दै निकाल्दै गर्दा आमाले सानो कराईमा हातले घुमाउदै चिनी हालेर बनाएको सेल पुरिको स्वाद सम्झिने बितिकै पानी निस्कियो एकपल्ट यो जिब्रोबाट।

मासुका चोक्टाहरु दातले लुछ्दै गर्दा अह!जिब्रोको एक धार पनि पाइन् बुवाले काट्नु भएको कालो खसिको जति मिठो स्वाद ।फेरि क्षणभरमै दिमागले पृथक अध्याय पल्टायो र तुलना गर्न थाल्यो ,यहाँका सुन्दर कहलिएका पार्कहरु ,उद्यानहरुमा फुलेका सयौं प्रजातिका फुलहरु जसले मेरो गाउँ घरको आगनमा फुलेका सयपत्री ,सुपारी ,हजारी फुलहरुको जति आकर्षण र सुगन्धित सुवास दिनै सक्दैनन् भनेर।रातो माटो र सेतो कमिराले पोतिएको मेरो जन्मभुमिको दृश्य मानसपटलको सम्झनाले क्लिक गर्यो।र एक्कासी यो शहरका गगनचुम्बि रंगिन महलहरु मेरा आखाका पर्दा पछाडी विस्थापित भए ।प्रत्येक साझ विद्युतिय श्रिङ्गारमा निस्किने यो चम्किलो झिलिमिली शहर तिहारमा मैनबत्तिले अन्धकार चिरेको मेरो बस्ती भन्दा कयौं गुणा कुरुप लाग्न थाल्यो। यति तुलाना गर्दै सम्झिदै गर्दा अलिकती भावविह्वल भएछु। सास फेर्न गाह्रो महसुस भयो। फृजको चिसो पानीको बोतल झिकेर घाटिमा खन्याए।थोरै रोकिएर सोचे होइन यसरि सम्झिदा सम्झिदै स्वदेशमा दशै फुत्त चिप्लेर जान्छ। अब ढिलो नगरी मैले मन बुझाउदै परदेशबाट भए पनि मेरो देश,परिवार ,आफन्तजन ,इष्टमित्र सबै सबैलाई बडा दशैको हार्दिक मंगलमय शुभकामना प्रदान गर्नुपर्छ।
लेखक-तपेन्द्र बिष्ट
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *