नेपाल भारत बीच पेट्रोलियम पाइपलाइन उद्घाटन

नेपाल भारत बीच पेट्रोलियम पाइपलाइन उद्घाटन

काठमाडौं : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् । पाइपलाइनकाे सम्पूर्ण काम सिकएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा स्वीच थिचेर उद्घाटन गर्ने भएका हुन् । उक्त पाइपलाईनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जनाए ।

‘पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, प्रवक्ता गोइतले भने ‘नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्वीच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन शुरु हुनेछ।’ उक्त उद्घाटनको दृष्य नेपाल आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पाेरेशनको मोतिहारी डिपोबाट प्रत्यक्ष रूपमा हेर्नसक्ने व्यवस्था गरिएको बताइएको छ। उद्घाटन पश्चात तत्काल बरौनी डिपोबाट डिजेल आउने छ।

विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण गरिएको हो। विसं २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ। शुरुमा पाइपलाइनबाट साढे ६०० किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ । पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *