सुभद्रा ढकालको कथा ‘अन्तिम भेट’

सुभद्रा ढकालको कथा ‘अन्तिम भेट’

चाँडै फर्केर आउँछु । आफ्नो ख्याल राख्नू । एयरपोर्ट पुग्ने वित्तिकै उसले भनेको थियो । यो प्रेम थियो कि आग्रह ? माया थियो कि अपेक्षा ? खुसी थियो कि रहर ? मेरा गह भरिए । उसको निधारमा गुराँस टाँसिदिदै भने मैले, तिमी पनि आफ्नो खुसीको ख्याल राख्नू ।
एकैछिनमा उसँगको प्रेमिल हात छुट्यो । जहाज छुट्यो ।
त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलबाट ऊ उडेको जहाज बादलको शहरमा हराउँदा मैले जानिनँ, ऊ हरायो कि मेरा सपना ?
ऊ प्रवाश भासिएको रात मेरो सिरानीकोे पीडा म सुनाउँदिन ।
उसले गएको केही समयसम्म मेरो ख्याल गरिरह्यो । मेरो आँसु र हृदयको भाषा कुन्नि के गथ्र्यो ? तर मनको भाषा कहिलेकहिँ बुझेको महसुुस गर्थेँ ।
ऊ वेलावेलामा सम्झाइ रहन्थ्यो, आफ्नो ख्याल गर्नू ।
केही समय निकै कुरा भए । ऊ अमेरिकाको सम्वृद्धिको कुरा गथ्र्यो, जीवन शैलीको व्याख्या । सोच र परिवर्तनको पनि वारेमा पनि भन्न भ्याउँथ्यो । उसले चिल्लोकारमा डौडिएर गरेको कुरा म नेपाल यातायताको अन्तिम सिटमा सुनिरहन्थेँ ।
म खुुसी हुन्थेँ उसको कुरा सुनेर, लाग्थ्यो मलाई सम्झने कोही त छ ।
एकसाँझ ऊ बोल्दाबोल्दै अफ लाइन भयो । त्यसपछिका कयौँ साँझहरु छट्पटीमा विते । एक महिनासम्म ऊ अनलाइन आएन । मैले आफ्नो ख्याल गरिरहेँ । उसको खुसीको ख्याल गरिरहेँ ।
एक महिना पछि उसको नाम सर्च गरेँ । कतै भेटिनँ । अहो ! मलाई ब्लक गरेछ । कति ख्याल गर्दो रहेछ मेरो खुसीको ।

कुनै गुनासो राखिनँ । उसको फेसबुक उसको खुसी । उसको जिन्दगी । म किन प्रश्न गरु,ँ किन तिम्रो ब्लक लिस्टमा परे ?
एक साँझ घरमा विवाहको कुरा चल्दै थियो । दाइले सोधे मन परेको कोही छ ?
मुटु चिरियो के जवाफ दिऊँ ? दाइलाई कुन अन्दाजले भनुँ व्लक लिस्टमा परेको मान्छेको मुटुमा म अझैँ जिउँदो छु ।
सोच्न दिनुहोस् भनेर सुत्न गएँ, निद परेन । उसका यादले आँखा भिजे ।
फेसबुक खोलेँ । नयाँ म्यासेज आएको रहेछ । उसले नयाँ आइडी खोलेर म्यासेज गर्न भ्याएछ कति ख्याल गर्छ ऊ मेरो ।
लेखेको थियो, म नेपाल आएँ । भोलि बिहान १० बजे तिम्रो प्रतीक्षामा हिमालयन कफीसप डिल्लीबजारमा हुन्छु ।
मेरो जिन्दगीमा उज्यालोको सङ्केत देखियो । खुसीले रातभरि निदाइनँ । बिहानै दाइलाई भनेँ । दाइ मेरो मन परेको कोही छ ।
दश बजे हिमालयन कफी सप पुगेँ । उसको अगाडि एउटी सुन्दर युवती थिई । मलाई अनुमान लगाउन गाह्रो भएन ऊ उसकी श्रीमती हो ।
उसले आफ्नी श्रीमतीको परिचय दिदैँ भन्यो, उनी नर्स हुन् । कमाई पनि राम्रो छ । उसकी श्रीमती मुस्कुराई । म प्रतिउत्तरमा नमिठो हाँसे ।
उसले फेरि भन्यो, विवाहमा तिमीलाई बोलाउन सकेनौँ । भोलि अमेरिकाको प्लाइट छ । अँ साँच्चि कुन कफी मगाऊँ ?
हतार छ म निस्कन्छुु , हजुरहरुको यात्रा सफल होस् । आफू निस्कुनपर्ने बाध्यता सुनाएँ । उसले भन्यो मेरो गाडी छ म छोडिदिन्छु कहाँ बस्छौ अचेल ?
उसले अझैँ पनि मेरो ख्याल गर्दो रहेछ । मेरो खुसीको बारेमा सोच्दो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *