पर्सा : दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहदा नेपालमा कोरोना जित्नेहरुको संख्या पनि बढिरहेको छ । सुक्रबार मात्र बाँकेमा धेरै जनाले कोरोनामाथि विजय हासिल गरेका थिए । सनिबार पनि पर्सा वीरगन्जस्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज हुँदै छन्।
नारायणी र गण्डक अस्पतालमा उपचाररत ९६ जना संक्रमितमध्ये शनिबार ९ जना डिस्चार्ज हुने भएका हुन्। ‘कागजी प्रक्रिया मिलाउँदै छौं,’ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले भने। डिस्चार्ज हुनेमध्ये पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष छन्। नारायणी अस्पतालमा ७१ र गण्डक अस्पतालमा २५ गरी ९६ जना संक्रमित उपचार गराइरहेका छन्।
डिस्चार्ज हुनेहरु सबै नारायणी अस्पतालमा उपचार गराइरहेका हुन्। नारायणी अस्पतालमा अब ६२ जना मात्र संक्रमित बाँकी रहने छन्। उता नारायणीकै अस्थायी नामले संचालित गण्डक अस्पतालमा रहेका २५ जना संक्रमित भने डिस्चार्जको सूचीमा नपरेको अस्पतालले जनाएको छ। डिस्चार्ज हुनेहरुमा वीरगन्ज महानगरपालिका २ का ३० वर्षीय, वडा नम्बर ३ का ५० बर्षीय, वडा नम्बर १६ का ५१ वर्षीय पुरुष छन्। त्यसै गरी बाराको सिम्रौनगढ ४ का ३१ वर्षीय, जितपुर सिमरा १ का ४३ वर्षीय पनि पुरुष पनि रहेका छन्।
उता रौतहट गुजरा नगरपालिका ५ का ३५ वर्षीय, इशनाथ नगरपालिकाका १९ वर्षीय, वृन्दावन नगरपालिकाका २४ वर्षीय पुरुष र तथा ४२ वर्षीय एक भारतीय पनि पुरुष डिस्चार्ज हुने अस्पतालले जनाएको छ। तीमध्ये दुई जना वैशाख १४ गते डिस्चार्ज भई पुनः २१ गते भर्ना भएका थिए।