अस्ट्रेलियाको तास्मानियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि

अस्ट्रेलियाको तास्मानियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि

करिब ५ वर्ष पहिला अस्ट्रेलियाको ग्रामीण राज्य तास्मानियाको लच्नेस्टनमा नेपाली युवा मित्र गुरुङ आउँदा यो क्षेत्रमा नेपालीहरुको संख्या गन्न सकिने थियो । बाटोमा नेपाली मूलका केही मानिसहरु भेट्दा पनि उनी खुसी हुन्थे रे ।

उनलाई मात्र होइन, करिब ३ वर्ष अगाडि लन्चेस्टन आएका विश्व खनालको पनि यही अनुभव छ । सुरुसुरुमा लन्चेस्टनमा अलिअलि नेपालीहरु पनि छन् है भन्दा उनीहरुसँग परिचय गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

तर अहिले भने समय भिन्नै छ । लन्चेस्टनमा भएका नेपालीहरुको संख्या हातमा गन्न सकिने बेलाका उनीहरुलाई अहिले यहाँका गल्ली गल्लीमा नेपालीहरु देख्दा उनीहरुकै भाषामा खुसीभन्दा अचम्म लाग्छ ।

‘लन्चेस्टनमा हामी आउँदा कोही नेपाली थिएनन, अहिले काठमाडौंको पुतलीसडक जस्तै भइसक्यो,’ गुरुङ भन्छन्, ‘कहिलेकाही त आँफै नेपालमै पो छु कि जस्तो भान हुन्छ ।’

किन बढे तास्मानियामा नेपाली

तास्मानियाको राजधानी होबार्टसहित डेभनपोर्ट र लन्चेस्टनलगायतका क्षेत्रहरुमा पछिल्लो समयमा नेपालीहरुको संख्यामा वृद्धि भइरहेको छ । यद्यपि हाल कोरोना भाइरसको महामारीले गर्दा भने बसाइ सर्नेहरुको संख्यामा कमी आएको छ ।

हुन त संसारका जुनसुकै कुनामा पनि नेपालीहरुको उपस्थिति भएको सुन्न पाइन्छ । तर लन्चेस्टनमा पछिल्लो समयमा नेपालीहरुको उल्लेख्य उपस्थिति हुनुले धेरैलाई अचम्मित तुल्याएको छ ।

गत वर्ष अस्ट्रेलियन सरकारले ग्रामीण क्षेत्रमा बसोबास गरी उक्त क्षेत्रको अर्थतन्त्रमा निरन्तर योगदान दिन सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्थायी भिसा दिने नियम ल्याएपछि तास्मानिया राज्यको लन्चेस्टनमा नेपालीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ ।

कति अवधिमा कति कति नेपालीहरु लन्चेस्टन प्रवेश गरे भन्ने यकिन तथ्यांक नभए पनि गत ४/५ महिनाको अवधिमा करिब एक हजार नेपाली विद्यार्थीहरु तास्मानिया आएका छन् ।

‘सिड्नी, मेल्बर्नमा बसेर पीआर नआउने भयो क्यारे, त्यही भएर हामी यहाँ आएका हौं,’ लन्चेस्टनको एक डिपार्टमेन्टल स्टोरमा भेटिएका तीन नेपाली युवतीहरुले एकैचोटी हाँस्दै भने ।

गत वर्ष सिड्नी, मेल्बर्न र एडिलेडलगायतका ठूला सहरहरुमा मानिसको चाप कम गर्ने उद्देश्यले गतवर्ष अस्ट्रेलियन सरकारले नयाँ ग्रामीण भिसाको नियम लागू गरेको थियो ।

सोही नियमअनुसार सहरमा बसेर स्थायी बसोबासको ठेगान नहुने भएपछि अन्तर्रास्ट्रिय विद्यार्थीहरु लगायत नेपालीहरु पनि ग्रामीण क्षेत्रमा बसाइ सरेको माइग्रेसन एजेण्टहरुको भनाइ छ ।

‘अन्य ठाउँको तुलनामा तास्मानियामा आएपछि अस्ट्रेलियामा पीआर पाउन सजिलो छ, त्यही सुविधाले तास्मानियामा अन्तर्रास्ट्रिय विद्यार्थीहरुको संख्यामा वृद्धि आएको हो,’ एक माइग्रेसन एजेण्टले भने ।

यद्यपl लन्चेस्टनमा नेपालीहरुको यकिन तथ्यांक भने कसैसँग छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *