आबुधाबीमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

आबुधाबीमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

युएईको आबुधाबीमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरूलाई आबुधाबी राहत टिमले उद्धार गरेको हो ।

बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनको उद्धार गरी आबुधाबीमा राखिएको छ । ४ महिनाअघि नेपालमा रहेका एजेन्ट बोम बहादुर पुनमार्फत ११ जना नेपाली भिजिटमा युएई आएका थिए । दुईजना भने नेपाल फर्किसकेका छन् । अन्य ५ जना यहाँ रहेका आफन्तसँग छन् । दुबईको अलरिगामा बस्दै आएका उनीहरूलाई एजेन्टले कोठा भाडा नतिरिदिएपछि कोठा धनीले निकालेको कर्ण लोप्चनले बताए ।

नेपाल फर्काइदिन गुहार माग्दै मंगलबार दुबईबाट उनीहरू आबुधाबीस्थित दूतावास आए । खानबस्न र नेपाल फर्काइदिन दूतावाससँग आग्रह गरे । दूतावासले नेपाल फर्कनका लागि फारम संकलन गरी बाँकी प्रकृया पूरा गरेर पठाउने जनायो । दूतावासका स्थानीय कर्मचारीको सहयोगमा उनीहरूले नेपाल फर्कने फारम भरे ।

आबुधाबीमा एक दिनका लागि खानबस्न व्यवस्थापन भए पनि अर्को दिनबाट समस्या भएको लोकेन्द्र थापाले सुनाए । उनले थपे, ‘एक दिन एनआरएनका सरले खानेबस्ने व्यवस्था गरिदिनुभयो । भोलिपल्टदेखि हामी बिचल्लीमा पर्यौं ।’

दुईदिन खुल्ला आकाशमा रात कटाएको उनले सुनाए । ‘दिनमा दूतावासको बाहिर बस्यौं । रातभर आबुधाबीको बसपार्क नजिकको चौरमा सुत्यौं ।’

निद्रा नपुगेकाले आँखा सुन्निएको अवस्थामा उनीहरू थिए । उद्धार गर्ने कोही भेटिने आशमा दिनभरि प्रचण्ड गर्मीमा दूतावास बाहिर बसेका उनीहरूलाई स्थानीय कर्मचारीले पानी र पाउरोटी किनेर खान दिएका थिए ।

एजेन्टको बेवास्ता

उनीहरूले एजेन्टलाई दुई लाख ५० हजार रुपैयाँका दरले बुझाएको बताएका छन् । यहाँ आएपछि भने गोरखा घर भएका अर्का एजेन्ट पुष्पराज न्यौपानेलाई एक हजार डलर बुझाएको लोकेन्द्र थापाले बताए । उनीहरूलाई होटलको काम लगाइदिने भनेर ल्याइएको थियो । एक महिनासम्म काम नपाएको र त्यसपछि लकडाउन सुरु भएको थापाले बताए । अहिले एजेन्टले वास्तै गर्न छोडेको उनीहरूको गुनासो छ ।

युएईमा खानबस्न समस्यामा परी पार्कमा सुत्दै आएका उनीहरूका बारेमा जानकारी पाएपछि आबुधाबी राहत टिमले उनीहरूको उद्धार गर्‍यो ।

आबुधाबी राहत टिमका तर्फबाट प्रकाश पौडेल, कुष्ण गौतम र दुर्योधन कार्कीलगायतले उद्धार गरेका थिए । उद्धार गरिएका उनीहरूलाई उक्त टिमका निमा शेर्पाको संयोजनमा बस्ने व्यवस्थापन गरिएको र खाद्यान्न सामग्री उपलब्ध गराएको टिमका कृष्ण गौतमले जानकारी दिए । तत्कालका लागि खानेबस्ने व्यवस्था भएको र नेपाल फर्काउन दूतावाससँग थप समन्वय गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *