स्वदेश जाने व्यवस्था मिलाईदिन दूतावासलाई आग्रह

स्वदेश जाने व्यवस्था मिलाईदिन दूतावासलाई आग्रह

कतारमा रहेका नेपालीहरुले स्वदेश जाने व्यवस्था मिलाई दिन नेपाली राजदूतावास दोहा कतारलाई आग्रह गरेका छन् ।

उनीहरुले नेपाली राजदूतावासमा फोन, इमेल, सामाजिक संजाल तथा अन्य बिभिन्न माध्यम मार्फत स्वदेश जाने व्यवस्था मिलाईदिन आग्रह गरेका हुन् । नेपाली राजदूतावास दोहा कतारले बिभिन्न माध्यमबाट नेपालीहरुले स्वदेश जाने व्यवस्था मिलाईदिन आग्रह गरेपछि नेपाल सरकार र अन्य सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण गर्दै आइरहेको दूतावासको आधिकारी पेजमार्फत जानकारी दिएको छ ।

कम्पनीबाट रिजाइन दिएर बसेका कतिपय नेपालीहरु अहिले समस्यामा छन् ।उनीहरुसंग अहिले न काम छ न उनीहरु घर जाने अवस्थामा नै छ । नेपालले उडान रद्द गरेपछि उनीहरु कोठामै बस्न बाध्य भएका छन् । कोरोनाको संक्रमण पश्चात फोर्स रिजाइनमा परेकाहरु पनि अन्यौलमा छन् । उनीहरुले नेपाल सरकारसँग दूतावासले समन्वय गरेर चार्टर जहाज मार्फत भएपनि स्वदेश फर्काउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

स्वदेश गएर परिवारसँग बस्ने चाहना राख्नु स्वभाविक भएपनि अहिलेको यो विषम परिस्थितिप्रति दूतावास पूर्ण सचेत रहेको उल्लेख गरिएको छ । परिस्थिति सामान्य भई नेपाल जाने वातावरण नहुन्जेलसम्मका लागि कतारमा रहेका नेपालीहरुले एक अर्काको मनोबल बढाएर एकजुट भई रहन आग्रह गरिएको छ ।

दूतावासले जो जहाँ छौं त्यही सुरक्षित बस्न आग्रह गरेको छ । कोरोना संक्रमित भई कतारमा उपचारार्थ रहेका नेपालीहरुको सिध्र स्वास्थ्य लाभको कामना गर्दै दूतावासले आफू सुरक्षित बस्न र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।

कतारमा खाना तथा बसोबास लगायतका समस्याहरुको समाधानका लागि राजदूतावासले कतारको सम्बन्धित निकाय, रोजगारदाता कम्पनी, गैर आवासीय नेपाली संघ र अन्य संघ संस्थासँग समन्वय मार्फत सहजीकरण गरिरहेको जानकारी दिएको छ ।

हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *