गोड्ने बेलामा पोखराका किसानले पाएनन् मल, उत्पादन घट्ने चिन्ता

गोड्ने बेलामा पोखराका किसानले पाएनन् मल, उत्पादन घट्ने चिन्ता

लेखनाथका किसान धर्मदत्त पौडेललाई यस वर्ष धान रोप्न कुनै समस्या भएन। समयमै पानी परेकाले आफ्नो १० रोपनी खेतमा धान लगाए।

यसका अलावा लकडाउनको सदुपयोग गर्दै साथीहरूसँग सल्लाह गरेर थप २२ रोपनी जमिनमा पनि सामुहिक रूपमा धान रोपे।

लेखनाथको फाँटमा धान रोपेको केही समयपछि, असार २६ गते आएको बाढीले खेतमा सिचाँई गर्ने नहर भत्काइदियो। नहर भत्किएपनि दिनहुँ परिरहेको पानीले धानलाई उति साह्रो असर गरेन।

किसानको श्रमदान र महानगरको प्रयासमा २८ दिन लगाएर नहर मर्मत भयो। खेतमा पानी भरीयो।

अहिले पौडेल धान गोड्दैछन्। यसरी गोडेको खेतमा युरिया मल हाल्नुपर्छ। यसका लागि प्रति रोपनी १ बोरा युरिया मल चाहिन्छ। तर पौडेलले मल हाल्न पाएका छैनन्।

जसका कारण उनलाई उत्पादन घट्ने चिन्ताले पिरोल्न थालेको छ।

गत वर्ष उनले १० रोपनी खेतबाट २८ मुरी धान फलाएका थिए।

अहिले भने आफ्नो र सामुहिक रूपमा रोपेको खेतबाट अघिल्लो वर्षझै उब्जनी नहुने भेउ उनले पाइसकेका छन्।

‘धानलाई मल हाल्नुपर्ने बेला यही हो’, पौडेलले भने, ‘अहिले मल हाल्न नपाए धेरै फल्दैन, घाटा लाग्न सक्छ।’

युरिया मलको विकल्प पनि छैन। रोप्ने बेला जसोतसो जोहो गरेर मल हालेका पौडेलले अहिले मल पाइरहेका छैनन्।

लेखनाथका पौडेल मात्र होइन,अहिले धेरै किसान मल अभावका कारण चिन्तित छन्।

उनीहरू दिनहुँ पोखरा महानगरको कृषि महाशाखामा मल माग्न जाने गरेका छन्। तर, महाशाखाका प्रमुख मनहर कडरियाले किसान आएपनि उनीहरूलाई रित्तै फर्काउनु परेको बताउँछन्।

पोखरामा मलको विक्री वितरण कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले गर्छ। यी दुई संस्थाले मल ल्याएर सहकारी मार्फत किसानलाई मल विक्री वितरण गर्ने कडरिया बताउँछन्। धान रोप्ने बेला स्टक रहेको मलले काम चलाएपनि गोड्ने बेला बजारमा कत्ति पनि मल नभएको उनको भनाइ छ।

धानका लागि मल हाल्ने सबैभन्दा महत्वपूर्ण समय यही हो। किसानले प्राय: रोप्ने बेला र गोडेपछि मल हाल्छन्। रोप्ने बेला भन्दा पनि गोड्ने बेला मल अनिवार्य हाल्नुपर्ने महानगरका कृषि प्रमुख कडरियाले बताए।

‘मल हालेको धान हरियो भएर आउँछ, नहालेको पहेंलो हुँदै जान्छ,’ उनले भने, ‘मल हाल्न नपाएकै कारण यस वर्ष धान उत्पादनमा गिरावट आउने भयो।’

यस वर्ष धान उत्पादन बढ्नुपर्ने हो। समयमै पानी परेको र किसानले समयमै धान रोपेकाले मात्र होइन, यस वर्ष खेती गरेको क्षेत्रफल पनि बढेको छ। पोखरा महानगरभरी ११ हजार २ सय हेक्टर जमिनमा धान खेती गरिन्छ। जसमा करिब १० प्रतिशत बढी जमिनमा यस वर्ष धान रोपिएको कडरियाले बताए। यस हिसाबले धानको उत्पादन बढ्नुपर्ने भएपनि मल हाल्न नपाएकै कारण उत्पादन घट्ने उनले आशंका गरे।

कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण स्थान ओगटेको धान नेपालीको मुख्य खाद्यान्न हो। उत्पादन घट्दा कुल ग्राहस्थ उत्पादनमै असर पर्ने देखिएपनि समस्याको कारण सरकार नै भएको कृषि प्राविधिकहरू बताउँछन्।

प्राकृतिक प्रकोप, बाढी, पहिरो वा खडेरीले भन्दा पनि सरकारले मल उपलब्ध गराउन नसक्दा उत्पादन घट्ने अवस्था आएको लेखनाथका किसान पौडेलले बताए।

यस वर्ष व्यवसायिक किसानले मात्र होइन, पोखरामा जग्गा लिएर राखेका साना साना ठाउँमा पनि धान रोपिएका छन्। गत वर्षसम्म बाँझो रहेका जमिनमा धान रोपिएकाले उत्पादन बढ्ने भन्दै कृषि प्राविधिकहरू उत्साही बनेका थिए।

मल नपाउँदा त्यो उत्साह २ महिना पनि टिकेन। उत्पादन घट्ने चिन्ताले व्यवसायिक धान रोप्नेहरूलाई पिरोलेको कडरियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *