“समृद्ध नेपाल निर्माणमा युवाहरुको भूमिका” – रामचन्द्र जाेशी

“समृद्ध नेपाल निर्माणमा युवाहरुको भूमिका” – रामचन्द्र जाेशी
  • रामचन्द्र जाेशी

मानिसका विभिन्न् उमेर समूह मध्ये युवा अवस्था एक उर्जाशील अवस्था हो । देशको परिवर्तनका संवाहक युवाहरु हुन । विश्वका विभिन्न देशको सामाजिक, आर्थिक, राजनितिक लगायत अनेकन क्षेत्रको आमुल परिवर्तनमा युवाहरुको हात रहेको यर्थातता विश्व इतिहासमा छ । सक्षम, क्षमतावान, योग्य, जोस जाँगर भएको शारीरिक र मनोवैज्ञानिक रुपमा देशको अग्रगामी विकासका लागि तत्पर रहेको राष्ट्रिय भावनाबाट भरिपूर्ण भएको जीवनको एक सशक्त अवस्थाका रुपमा युवा अवस्थालाई लिने गरिन्छ । देशको मुहार कायापलट गर्ने श्रम,सीप, योग्यता र अनुभवले खादिएको अग्रगामी परिवर्तनमा विश्वास गर्ने देशको आमूल परिवर्तनमा अग्रमोर्चामा रही काम गर्ने सिर्जनशिल र रचनात्मक क्षमता भएका परिवर्तनका संवाहक युवा हुन ।

विभिन्न देशमा युवालाई विभिन्न उमेर समूहमा राखेर परिभाषित गर्ने गरेको पाईन्छ । बौद्धिक सनातन कालमा मानिसको परम आयु १०० वर्षमानी चारवटा आश्रमको व्यवस्था गरेको देखिन्छ । पहिलो २५ वर्षलाई बह्माचर्य, दोश्रो २५ वर्षलाई गृहस्थ, तेस्रो २५ वर्षलाई वानप्रस्थ र अन्तिम २५ वर्षलाई सन्यासाश्रम को रुपमा लिएको थियो । दोश्रो २५ जसलाई गृहस्थाश्रम भनियो, जुन मानव जीवनको महत्वपूर्ण अवस्था हो । यही उमेर युवा अवस्था हो । विश्वका विभिन्न मुलकको युवा उमेरलाई केलाउदा फरक-फरक उमेर समूहलाई युवाका रुपमा परिभाषित गरिन्छ । श्रमशक्तिका दृष्टिले १५ देखि ५९ वर्ष उमेर समूहलाई युवा जनशक्ति वा सक्रिय उमेर समूहका रुपमा लिने गरेको पाइन्छ ।

मनोवैज्ञानिकहरुले १८ वर्ष देखि ४० वर्षको उमेर समूहलाई युवा अवस्थाभित्र समावेश गरेको देखिन्छ । पछिल्लो समयमा नेपाल सरकारले जारी गरेको राष्ट्रिय युवा निति २०७२ मा १६ वर्ष देखि देखि ४० वर्षको उमेर समूहलाई युवा भनि परिभाषित गरेको छ । यसरी विभिन्न अर्थ र दृष्टिकोणले विश्लेषण गर्दा युवाहरु देशका उर्वरशिल जनशक्ति हुन । देशको समृद्धिमा युवाहरुको अपरिहार्यता हुन्छ । नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न युवा शक्तिको अहम भूमिका रहेकोछ । युवा राष्ट्रका वर्तमान र भविष्य दुवै हुन । वर्तमानमा युवाले गरेको कार्यले भविष्यमा देश कुन दिशा तिर डोर्‍याउने भन्ने कुरामा दिशा निर्देश गर्दछ । देशको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, पक्षको आमूल परिवर्तनबाट मात्र देश समृद्धको बाटो तिर लाग्दछ । तसर्थ युवाहरु देशको भाग्य र भविष्य निर्माता हुन् ।

१, सामाजिक परिवर्तनमा युवा
समृद्ध देश निर्माणको एउटा आधार सामाजिक परिवर्तन पनि हो । समाजमा रहेका परम्परागत मूल्यमान्यता सोच विचार, चाडपर्व, रितिरिवाज, रहनसहन, जातजाती, भाषाभाषी, आदि कुराहरुले सामाजिक पक्षलाई इंगित गर्दछ । विश्वका विकसित र अविकसित समाजमा कुनै न कुनै रुपमा सामाजिक विभेद वा असमानताको अवशेष देखिन्छ । अविकसित देशमा सामाजिक विभेदको रुप ठूलोमात्रा देखिन्छ भने विकसित समाजमा भने कतै निर्मुल भएको कतै सुषुप्त अवस्थामा भेटिन्छ । यसरी विश्वमा देखिने सामाजिक असमानताका रुपहरुलाई जरैदेखि निर्मुल पार्न युवाको भूमिका अपरिहार्य हुन्छ । नेपाली समाजमा व्याप्त जातीय छुवाछुत, लैङ्गिक विभेद, बालविवाह, बहुविवाह, कुप्रथाहरु, कुरीति, कुसंस्कार छाउपडी प्रथा जस्ता अमानवीय, असामाजिक क्रियाकलापहरु निमूल पार्न सामाजिक आन्दोलनको आवश्कता छ । विगतमा हाम्रा पुर्खाले जे जसरी विताए पनि वर्तमानमा युवा पिढीँको सोच परिवर्तन हुन जरुरी छ । अन्धविश्वास कुरीति कुसंस्कारका पछि दर्गुनु भन्दा पनि कुनै पनि सामाजिक पक्षको वास्तविक धरातल पत्ता लगाई समाजबाटै त्यस्ता कुप्रथा, कुप्रवृतिको अन्त्य गर्न युवाहरुको विशेष भूमिका रहन्छ । देशको अग्रगामी विकासका लागि सामाजिक विभेद र असमानताको अन्त्य हुन जरुरी छ । सामाजिक परिवर्तनको महान अभियानमा युवाहरुको नेतृत्व आवश्यक देखिन्छ । यसरी सकारात्मक सोच विना सामाजिक परिवर्तन र सामाजिक परिवर्तन बिना समृद्ध समाजको परिकल्पना गर्न सकिदैन । समाजमा सदियौ देखि जरा गाडेर बसेका सामाजिक विकृति विसंगतिको अन्त्य गरी आधुनिक समृद्ध नेपाल निर्माणमा युवाहरु एक कदम अगाडी बढ्नु जरुरी छ ।

२, आर्थिक परिवर्तनमा युवा
देशको समृद्धि मापन गर्ने एउटा आधार आर्थिक पाटो पनि हो । देशको अर्थतन्त्र सबल नभए सम्म देशलाई समृद्धि उन्मुख बनाउन चुनौतीपूर्ण हुन्छ । नेपालमा सबैभन्दा चुनौतीको रुपमा रहेको समस्या मध्ये बेरोजगारी समस्या पनि एक हो । बेरोजगारी समस्याका कारण दैनिक हजारौं युवाहरु विदेशिनुपर्ने बाध्यता र विवशता छ । अधिकांश युवाहरुको रगत र पसिना विदेशी भूमिमा बगिरहेको छ । यसरी एकातिर जीवनको उर्जाशिल समय अरुकै लागि समर्पण गर्दा आफ्नो देशको विकास पर धकेलिएको छ भने अर्कोतिर दिनानुदिन परनिर्भता बढ्नुका साथै प्रतिभा पलायनको जोखिम पनि कम छैन् । तत्काललाई बेरोजगार समस्या कम भई रेमिट्यान्स मार्फत वैदेशिक रोजगारले विदेशी मुद्रा आर्जन भएको देखिएता पनि दिर्घकालिन रुपमा यसले देशलाई फाईदा गर्दैन । त्यसैले युवाहरुको कर्मशिल हातहरु देशकै उन्नति र प्रगतिका निम्ति खियाउनु पर्दछ ।

नेपाल प्राकृतिक साधन तथा स्रोत, वन तथा वातावरण, पर्यटन व्यवसाय, उद्योग कलकारखाना आदिमा निकै सम्भावना बोकेको देश भएकोले यस्ता क्षेत्रमा प्रशस्त लगानी गरी स्वदेशमा रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पालयन हुनाबाट रोक्न सकिन्छ । वर्षौ विदेशमा बगाएको पसिनाको अनुभवबाट फर्केका युवाहरुले आफ्नो अनुभव र सीपलाई स्वदेशमा प्रयोग गर्नुपर्दछ । कृषि, पशु, उद्योग, पर्यटन, व्यापार व्यवसायमा युवाहरुको आकर्षण बढाउन तीनवटै सरकारले युवा लक्षित कार्यक्रम बनाउन आवश्यक देखिन्छ । यसरी देशमा उपलब्ध साधन र स्रोतको समुचित व्यवस्थापनका माध्यमबाट देशको आर्थिक मुहार फेर्न युवाहरुको जोस जाँगर, सीप, अनुभव र पसिनाको खाँचो देशलाई पर्दछ । युवाहरुको लगनशिलता, परिश्रमी र ईमान्दारिताले देशको आर्थिक परिवर्तन ल्याई समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न सकिन्छ ।

 

         ३, राजनीतिक परिवर्तनमा युवा
नेपालमा अनेकौं राजनीतिक परवर्तन भए । राजनितिक परिवर्तन संगै राज्य व्यवस्था र शासन प्रणालीमा पनि परिवर्तन भयो । विश्वको राजनैतिक इतिहासलाई पल्टाएर हेर्ने हो भने युवाहरुको विरगाथा स्वर्ण अक्षरले लेखिएको भेटिन्छ । नेपालको प्राचीन राजनैतिक इतिहास देखि आधुनिक काल सम्म भएका जति पनि राजनितिक परिवर्तन भएका छन् ती सबै परिवर्तनमा युवाहरुको विरता र रगत जोडिएको छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान होस वा नेपाल अंग्रेज युद्ध होस तत्कालिन गोर्खाली सेनाको विरताको गाथा हाम्रो मानसपटलमा भिजेकैछ । वि।स। २००७ सालको क्रान्ति २०३६ सालको विद्यार्थी आन्दोलन, वि।स। २०४६ को जनआन्दोलन, २०५२ देखि सुरु भएको १० बर्षे जनयुद्ध र २०६२र६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रही काम गर्ने कार्य युवाहरुले गरेकै हुन । यसरी विभिन्न राजनीतिक आन्दोलनमा युवाहरुले आफ्नो प्राणको आहुती पनि दिएकै हुन । तथापी युवाहरुको महान कार्यको प्रतिफल पाउन भने चुकेकै हुन । राजनीतिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका युवाहरु राजनीतिक परिवर्तन पछिको लाभ तथा जिम्मेवारीमा भने युवाहरुलाई पन्छयाएकै देखिन्छ ।
यसरी विगत देखि वर्तमान सम्म भएका राजनीतिक परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण भए जस्तै आगामी दिनमा पनि युवाहरुको राजनीतिक भूमिका कम भइसकेको छैन् । शैशावस्थामा रहेको संविधानको रक्षा र कार्यान्वयन गर्न, देशमा सुशासन कायम गर्न पवित्र राजनीतिक आचरण गर्न, सक्षम र जिम्मेवार, राजनीतिक कर्मीको भूमिकामा रहन ऐन कानुनको निर्माण र कार्यान्वयन गर्न, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न, दरिलो कुटनीतिक सम्बन्ध स्थापित गर्न, विश्व समुदायमा नेपालको पहिचान उच्च राख्न, मानवअधिकारको रक्षा गर्न, समुन्नत नेपाल निर्माण गर्न युवाहरुको भूमिका महत्वपूर्ण छ । नेपालको अस्थिर राजनीतिक संस्कारलाई निर्मुल पार्न, राजनीति भित्र हुने अन्याय अत्याचार, नातावाद, कृपावाद, घुसखोरीतन्त्र विरुद्धमा युवाहरुको आवाज बुलन्द हुनुपर्दछ । सरकारले गरेका नराम्रा कार्यको विरोध गर्नु, सुशासन तथा शान्ति सुरक्षा कायम गर्न सरकारलार्इ सहयोग गर्न युवाहरुको विशेष जिम्मेवारी हुन्छ ।आफूले स्वच्छ राजनीतिक आचरण भित्र रही अरुलाई पनि सोही प्रकारको आचरण गर्ने अनुकरणीय व्यक्तिको रुपमा युवाहरु स्थापित हुनु पर्दछ ।

४, विकास निर्माणमा युवाः
विकास निरन्तर रुपमा चलिरहने एक प्रक्रिया हो । सकारात्मक संरचनात्मक र प्रगतिशिल परिवर्तन विकास हो । पुँजी, श्रम र लगानीको समन्वयात्मक सम्बन्धबाट विकासलाई अगाडी बढाउन सकिन्छ । आर्थिक, सामाजिक, राजनीतिक विकास जस्तै भौतिक विकासबाट देशलाई समृद्धिको ढोकामा लिन सकिन्छ । युवा शक्ति भनेको जोस, जाँगर र आँट भएको आफ्नो पाखुरा र बाहुबलमा विश्वास गर्ने श्रम शक्ति हो । हरेक युवाले देशको विकास निर्माण गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका हुन्छन् । युवाहरुको शारीरिक र मानसिक श्रमद्वारा देशलाई अग्रगामी विकासको सुमार्गमा हिडाउँन सकिन्छ । देश विकासको स्पष्ट मार्गचित्र कोर्ने योजना कार्यान्वयन गर्ने, सामुहिक भावनाको विकास गरी विकास कार्यमा सहभागी हुने, भौतिक निर्माण तर्फका विभिन्न आयोजनालाई मूर्तरुप दिने, विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका पक्षमा योजना बनाउने, कार्यान्वयन गर्ने जस्ता महत्वपूर्ण भूमिकामा युवाहरुको उपस्थितिले कुनै समाज वा देशलाई समृद्धिको दिशातिर अग्रसर गराउन सकिन्छ ।

५, सिमा सुरक्षामा युवाः
कुनैपनि देश छुट्याउने आधार ती देशका भौगोलिक सिमाना हुन् । देशको सिमा सुरक्षा गर्नु प्रत्येक देशको दायित्व भित्र पर्दछ । दुई ठुला देश भारत र चीनको बीचमा अवस्थित भूपरिवेष्ठित देश नेपालको सिमा सुरक्षाको विषय दिनानुदिन पेचिलो बन्दै गएको तितो यर्थाथता घाम जस्तै छर्लङ्ग छ । भारतको खुला सिमानाका कारण भारत नेपालको सिमाना क्षेत्रमा चोरी, डकैती, तस्करी, लागु औषधको तस्करी, कर छली जस्ता जघन्य सामाजिक अपराधको मात्रामा पनि कमी छैन् । भारत संगको अधिकांस ठाउँमा सिमा विवाद छ । कालापानी, लिपुलेक र सुस्ता क्षेत्रमा त सबैभन्दा बढी नेपाली भूभाग अतिक्रमणमा परेको छ । सिमा सुरक्षाको नेपाली इतिहास हेर्ने हो भने युवाहरुको भूमिका अग्रपंक्तिमा देखिन्छ । नालापानीको युद्धमा विर बलभद्र कुँवरको विरताको शब्दद्वारा बयान गरेर साध्य छैन् । पछिल्ला समयमा पनि सिमा सुरक्षाका खातिर युवाहरुले ज्यान गुमाउनु परेको कुरा कञ्चनपुरको पुनर्वास घटनाले चित्रण गर्दछ । राष्ट्रिय भावनाबाट लालायित बनेको नेपाली युवा आफ्नो देशको सिमा सुरक्षाका खातिर प्राणको आहुती दिन तयार छन भन्ने कुराको ज्वलन्त उदाहरण कञ्चनपुरको घटनालाई लिन सकिन्छ । सिमा क्षेत्रको सुरक्षा गर्न, सिमा विवाद भएका ठाउँको स्थलगत अनुगमन गरी द्विपक्षीय र बहुपक्षीय कुटनीतिक सम्बन्धबाट सिमा विवाद सुल्झ्याउन, कुटनीतिक सम्बन्धलाई दरिलो बनाउन विशेष गरेर युवाहरुले सरकारलाई सल्लाह, सुझाव तथा रचनात्मक दबाव लिन सक्छन् ।
समग्रमा युवा देश विकासको मेरुदण्ड हुन् । युवा अवस्थाको श्रम सीप र उर्जालाई देशको परिवर्तन र विकासमा लगाउन सके निश्चित रुपमा त्यो देश अग्रगामी विकास र समुन्नती हासिल गर्न समय लाग्दैन । राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको परिवर्तनमा युवाको अहम भूमिका रहदै आएकोमा आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्दछ । देशमा मौलाउदै गएको भ्रष्टचार, घुसखोरी, कालोबजारी जस्ता सामाजिक रोगलाई निर्मुल पारी सभ्य, सुसंस्कृत, समुन्नत समाज निर्माणमा युवाहरुलाई परिचालन गर्नुपर्दछ । नीति निर्माण गर्ने विभिन्न क्षेत्रमा युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने कार्यमा नेपालका राजनीतिक दलले पनि तत्परता देखाउन जरुरी छ । सुशासनयुक्त समाज निर्माणमा पनि युवाहरुको भूमिकालाई नकार्न सकिदैन ।

        (नि.प्रमुख प्रशासकीय अधिकृत
बान्नीगढी जयगढ गाउँपालिका,अछाम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *