नेपाल मुक्तक प्रतिष्ठान कोरियाको तेस्रो अधिवेशन सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान कोरियाको तेस्रो अधिवेशन सम्पन्न

प्रचण्ड सापकोटा, सौल(कोरिया) : नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले ३१ जनवरी २०२१ मा मुक्तक दिवसको अवसर पारेर स्रष्टा सम्मान, मुक्तक वाचन, संयुक्त मुक्तकसङ्ग्रह झिल्को विमोचनका साथै संस्थाको तेश्रो अधिवेशन सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सरुभक्त श्रेष्ठ तथा स्रष्टाअतिथिहरू रमेश पौडेल, रामजी आचार्य, सुनिल अधिकारी, नृपेश उप्रेती, गंगा पौडेल, सन्तोष अम्गाईं, विष्णु वाग्ले जस्ता मुक्तकमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष सञ्जयको स्वागत मन्तव्यका साथै उपिस्थत अतिथिहरूद्वारा शुभकामना मन्तव्य राखेका थिए भने संस्थाको तेस्रो कार्यसमितिले गरेका उल्लेखनीय कार्यविवरण दिपक राज बन्जाडेबाट प्रस्तुत भएको थियो। यसैगरी नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नामावली नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका महासचिव नृपेश उप्रेतीले पढेर सुनाएका थिए।

प्रतिष्ठानले नेपाली मुक्तकको विकास र विस्तारका लागि अतुलनीय योगदान दिएबापत प्रखर मुक्तककार प्राञ्जललाई “युवा मुक्तक प्रतिभा सम्मान २०७७” तथा संस्थालाई विशेष योगदान दिएबापत “सक्रिय सदस्य सम्मान ” बाट दिपकराज बन्जाडेलाई नगद रू रु ११,१११ र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सरूभक्त श्रेष्ठले मुक्तक सङ्ग्रह “झिल्को” को विमोचन गर्दै नेपाल मुक्तक प्रतिष्ठानले मुक्तकको विकासमा पुर्‍याएको उल्लेख योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो । अघिल्लो दिन संस्थाको आन्तरिक भेलाबाट सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा आर एन, बरिष्ठ उपाध्यक्षमा निर्दोष शिव, उपाध्यक्ष तपेन्द्र बिष्ट, महासचिव प्रचण्ड सापकोटा, सचिव दीप रावल, कोषाध्यक्ष आर पि सी संगम र सह- कोषाध्यक्ष राम सुवेदी लगायत ४० जनाभन्दा बढी सदस्यहरू रहेको जानकारी महासचिव प्रचण्ड सापकोटाले दिएका छन् ।

कार्यक्रममा कोरोना कहरका कारण भर्चुअल जुमभित्र गरिएकोमा ४० जनाभन्दा बढी तथा फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हेर्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *