अछाम आक्रमण: एक अन्धकार रात, जसले छोडेर गयो आहत

अछाम आक्रमण:  एक अन्धकार रात, जसले छोडेर गयो आहत

पवन मदुश्री
नजिक आइरहेको जिल्ला परिषद्को तयारी स्वरुप विषयगत समितिका निर्णय एकीकृत गर्न एकीकृत समितिको माइन्युट लेखनमा व्यस्त छु । संगै रहेको ८ वर्षीय छोरा निदाइसकेछ । लेख्दा लेख्दा ११.५५ बजेछ । सुत्ने तयारीको लागि शौचालयमा पिसाप गरेर १२.०० बजे कोठाभित्र प्रवेश गर्छु । ड्याङ्ग आवाजसहित बिजुलीको बत्ती जान्छ ।

भटटट…ड्याङ डुङ…… ऐया बा मरेँ… काका… मामा…. आदि इत्यादि आवाजले मंगलसेन बजार थर्कमान हुन्छ । अत्यासिदा मान्छेको बाँच्ने आशा अनौंठो हुँदोरहेछ ! छोरालाई आफ्नो मुनि राखेर आफू रक्षाकवज बन्न सुत्ने खाटमुनि घोप्टो परेर आकाश खसाउलाझैं बम बारुदको आवाजसँग सामना गरिरहन्छु । “बुवा हामी बाँचौला र ?” छोराको मुखारबिन्दूबाट बारम्बार निस्किरहेको निर्दोष आवाजलाई सान्त्वना दिन जबर्जस्त भनिरहेको हुन्छु-“केही हुँदैन, नडराउ, चिन्ता नगर !” “त्यसो भए हामी खाटमुनि किन लुक्ने त ?” छोराको बालसुलभ प्रश्नले निरुत्तर हुन बाध्य भएर भन्छु-“चुप लाग”

रातका प्रहर छिचोलिँदै उज्यालो हुन्छ ।
हातमा कहिल्यै नदेखेका अत्यानुधिक हतियार पड्काउँदै लडाकूहरू तछाँडमछाँड रामारोशनतिर बढिरहेका छन् । आकाशमा हेलिकप्टर घुमिरहेको छ । भटटट… आकाशमै हेलिकप्टरबाट फाइरिङ हुन्छ । लौं ! रातभरि बाँचिरहेको ज्यान अब सकिन्छ कि भन्ने त्रासले थर्कमान पो भइयो ।

बिहान ७ बजेको हुँदो हो, मंगलसेन बजारभन्दा तल कारागारतिर हेलिकप्टर ल्याण्डिङ भयो रे भन्ने सुनियो । अब त बाँचिने भइयो, बाहिरको अवस्था कस्तो होला भन्ने उत्सुकताले छोरोलाई कोठैभित्र थुनेर आफू चै तलबाट बाटो छोचोल्दै नजिक रहेको जिविसको गेष्ट हाउसतिर उक्लिएँ । बाटोभरि यत्रतत्र छरिएका रगताम्मे लाशहरूले दिमाग ह्याङ गराइदियो । ३० सेकेन्डको फरक परयो होला शाही नेपाली सेना हिँडेको बाटो पार गरेर म माथि उक्लिएको ।

धन्न ज्यान बचेछ, दुई सय मिटर अगाडिको टिनको छाप्रोमा छिचमिरा झै गोली छेलेर रातभर जोगिएका रामेछाप जिल्लाका दुईजना मजदुरहरूलाई रामेछाप घर भएकै आधारमा माओवादी दर्ज गराएर निष्प्राण बनाएछ, शाही नेपाली सेनाले । अगाडि जो भेटियो त्यसलाई सिध्याइहाल्ने अविवेकी चेतमा आर्मी रहेछ ।

शाही नेपाली सेनालाई छल्दै उनीहरू हिँडेको बाटो क्रस भएको ५ मिनेट समय अन्तरालमा उनीहरू मारिएका थिए । माथि गेष्ट हाउसको छतमा उक्लिएर हेरेको त ऐतिहासिक अछाम दरबार कालो मुस्लोले छोपिएर भग्नावेशमा परिणत हुँदै थियो । जिविस, वन, शिक्षा, कृषि, टेलिकम, भेटनरी सिडियो कार्यालयलगायत सम्पूर्ण कार्यालयहरू कालो मुस्लोले छोपिएर जलिरहेका देखिए । शाही नेपाली सेनाबाट बालबाल बचेर आएको मानसपटललाई अछाम दरबारले स्तब्ध बनायो ।

एक हप्ताअघि मात्रै मैले डेरा बनाएको थिएँ । राष्ट्रिय अनुसन्धान अधिकृतले “सर किन भाडा तिर्नुहुन्छ, बाथरुम, शौचालय, बिजुली पानी सबै व्यवस्था भएको यो कोठामा बस्नुहोस्” भनेर १० दिनअघि मलाई देखाउनु भएको अछाम दरबारको भव्य भवन जलेर भग्नावेशमा परिणत भइसकेको थियो ।

एक मनले त जिल्लाकै ठूलो र सुविधासम्पन्न भवनमा सित्तैमा बस्न पाइन्छ भने किन नबसौँ नलागेको पनि होइन तर अर्को मनले सोच्यो, माओवादी आक्रमणको निशानामा यस्तै भवन पर्ने हुन्छन् दुईचार पैसा जाओस् अलि परै बस्न बेस । धन्न पछिल्लो कुरा निर्णय गरेछु र ज्यान बाँचेछ । दुईचार पैसाको लोभी मन भएको भए २०५८ मै खरानी भइसक्ने रहेछु ।

अछाम दरबारमै आवास गर्नुभएका सिडिओ साप, मलाई आफूबसेकै भवनमा डेरा बस्न सल्लाह दिनुहुने राष्ट्रिय अनुसन्धान अधिकृत र उहाँकी धर्मपत्नी निस्प्राण हुनुभएको कुराले अब त दिमाग विक्षिप्तझैं बनिसक्यो । समय बित्दै जाँदा करिब १० बजेतिर मंगलसेन बजार शाही नेपाली सेनाको पूर्ण नियन्त्रणमा आइसकेको थियो ।

जिल्ला विकास समितिका सभापति कृष्णप्रसाद जैशीको नेतृत्वमा सर्वसाधारण पनि बजारमा हिँडडुल गर्न थाले । सभापति जैशीको बुद्धिमत्ता तथा साहसिक भुमिकाले धेरै जनधनको सुरक्षा भएको रहेछ, नत्र काठमाडौं नेपालगन्जबाट आएको आर्मीले सबैलाई माओवादी देखेर गोली दाग्ने रहेछ । जेनतेन ज्यान बचाएका नेपाल प्रहरीका डिएसपीलगायत उहाँको टिममाथी शाही नेपाली सेना जाइलागेको देखेर यही अडकल गरियो ।

यत्रतत्र लास, माछा मार्ने जालझैं छियाछिया परेका बिजुलीका पोलहरु, कालो मुस्लोले छोपिएको सदरमुकाम, यत्रतत्र देखिएका बम, आकाशमा उडिरहेको र ल्याण्डिङ भइरहेका हेलिकप्टरहरू आदि इत्यादि बीभत्स दृश्यले ज्यान बाँचेको नै हो भनेर ढुक्क हुनसक्ने अवस्था थिएन ।

मंगलसेन पालेवनमा रहेका ५८ जना सैनिकमध्ये ५५ जना स्वाहा, दर्जनौं संख्यामा नेपाल प्रहरीका शबहरू, विद्रोही माओवादीका शवहरू, निजामती कर्मचारी र सर्वसाधारण गरी करिव २०० भन्दा बढी शवहरूसँगको साक्षात्कार कस्तो होला ? उफ !!!
हरेक फागुन ४ गते आउँदा यिनै कालो दृश्यले मानसपटल कुरुप बनाइदिन्छ । उफ ! कसरी बिर्सौँ म त्यो कालो दिन !! उफ !!! आज १८ वर्ष बित्नलाग्दा पनि ताजै भएर आउँछ, त्यो कहाली लाग्दो दिन उफ !!!

(मदुश्री तत्कालीन जिल्ला विकास समितिका बरिष्ठ सूचना अधिकृत र हाल पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत (साताैँतह) मा कार्यरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *