टिकट काटेका ४ यात्रुमा कोरोना देखिएपछि…

काठमाडौंबाट ताप्लेजुङ्ग जानको लागि हवाइ टिकट काटेका १० यात्रुमध्ये ४ यात्रुमा कोरोना देखिएपछि ६ यात्रु बोकेर सिता एयरको बिमान ताप्लेजुङ्गको सुकेटार विमानस्थलमा अवतरण गरेको छ ।

कोभिड १९ का कारण चैतदेखि सरकारले आन्तरिक उडान बन्द गरेपछि सुकेटार विमानस्थल पनि बन्द थियो । ताप्लेजुङमा रोकिएका विदेशी पर्यटकको उद्धारकालागि बिचमा एकपटक चार्टड उडान भने गरिएको थियो ।

सोमबार ताप्लेजुङ आउने टिकट गरेका १० मध्ये ४ जनालाई कोरोना संक्रमण भएपछि उनीहरु काठमाडौंमै रोकिएका छन् । सरकारले यात्राका लागि पीसीआर जाँच अनिवार्य नभने आफूहरुले सतर्कता अपनाएको थापा बताउँछन् ।

ताप्लेजुङबाट भने ७ जना यात्रु लिएर जहाज काठमाडौं फर्किएको छ। आन्तरिक उडान सुरु भएसँगै सुकेटार विमानस्थलमा सीता एयरले पहिलो उडान गरेको हो।

कोरोना संक्रमणको जोमिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाएर नियमित उडान सुरु गरिएको सिता एयरका बिजनेस प्रमुख रिजेस थापाले बताए । उनका अनुसार काठमाडौंबाट उड्ने यात्रुलाई पीसीआर जाँच अनिवार्य गरिएको छ । पीसीआर जाँचका लागि सीता एयरले ५ सय रुपैयाँ छुट समेत गराएको छ । बाँकी खर्च यात्र आफैले बेहोर्नुपर्छ ।

सिता एअरले अब हप्ताको दुई दिन सोमबार र शुक्रबार नियमित काठमाडौं ताप्लेजुङ उडान गर्ने जनाएको छ । नेपाल एयरलाइन्सले पनि शनिबार र बुधबार काठमाडौं–ताप्लेजुङ उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

लामो समयदेखि बन्द रहेको हवाई र सार्वजनिक यातायात खुलेपछि जिल्लाका होटल र पर्यटन व्यावसायीहरु उत्साहित भएकाे समाचार केटीएम दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *