भो हाम्लाई कुलमान चाहिँदैन !

जबदेखि देशमा कुलमान उदाए तबदेखि जनताले ठुलो दु:ख पाए । हो देशबाट लोड्सेडिङ हट्यो । रातभरि बत्ती बल्दा कति किरा आँगनमा आए कतिका आँखा खाए । जनताका विद्युतीय सामान धेरै चल्दा बिजुलीको बिल धेरै बढेको छ । चौबिसै घन्टा उद्योग चल्दा मजदुरले दु: ख पाएका छन् । इन्भर्टर र ब्याट्रीको व्यापार घट्नाले तिनका परिवार आपतमा छन् । यसैको व्यापार घट्नाले छिमेकी रिसाएको छ । अन्धकार घट्नाले जनसंख्या घट्न सक्ने ख’तरा बढ्दो छ ।

धेरै जनता कुलमान नै चाहिन्छ भनेर सरकारलाई द’बाब दिन्छन् । कुलमान सरकारका आफन्त हैनन् र सरकारले भनेको मान्दैनन् भन्ने तिनलाई थाहै छैन । फेरि जनताले नै भनेको मान्ने भए दुई तिहाई सरकारका विद्वान सल्लाहकारको के काम ? मानिसहरू कुलमानले के के न गरे भन्छन् । न यिनले कहिल्यै चाकडी गरे, न आर्थिक सहयोग गरे । न पद माग्दै आए न कुर्सीमा हाकिम बनेर बसे । यिनले जाबो अँध्यारो हटाएको न हो । अँध्यारो त यिनले नहटाउँदा पनि सूर्य आएर बिहानैपिच्छे हटाएकै हो ।

जनताका प्रतिनिधि वार्डकै सदस्य भए पनि भिन्दै तरिका छ । यिनलाई राज्यले देशकै हाकिम बनाको कुर्सीमा बसेर कर्मचारी अह्राउन छाडेर आफैँ काममा जाने ? पदको मर्यादा बुझ्नु पर्दैन ? पैसा कमाउन छाडेर जनता कमाउने, मलामी कमाउने जाबो काम गर्ने मान्छे किन चाहियो ? मानिस भन्छन् कुलमानले घाटाको प्राधिकरण नाफामा लगे । एउटा प्राधिकरण नाफामा लगेर कति तस्करको व्यापार घाटामा लगे बुझ्नु पर्दैन । आखिर तस्कर पनि त जनतै हुन् । सामान्री जनताले त भोट मात्र दिन्छन् असाधारण व्यापारीले पो हाम्लाई भोट नोट दुबै दिन्छन् । यो कुरा बुझ्नु पर्दैन ।

फेरि हामीलाई चाहिएको अँध्यारो नै हो । त्यही युगमा बुद्ध, सीता, राम जस्ता व्यक्ति जन्मिए बिजुली आईकन त हामी जस्ता मात्रै त हो नि जन्मेका ! अँध्यारै पार्नु परेपछि किन चाहियो कुलमान ? कुलमानकै कुरा गर्ने हो भने गोकुलमानलाई सोधौँ । आफूअनुकुलका हनुमानजीलाई सोधौँ । कोही सम्धी,ज्वाइँ वा जेठान भए उनका कुलको मान नै हुन्छ क्यारे । जाबो सिस्टम बनाउने तर आफू बटम नबन्ने कुलमान के काम ?

आम नागरिकले यिनै कुलमानको पक्षमा सरकारलाई द’बाब दिएर गलत निर्णय गराउन सक्छन् । मुलुक पेट्रोलमुक्त, ग्यासमुक्त भएर ख’तरा आउन सक्छ । बिजुलीका गाडीले प्रदूषण बढाउन सक्छ । त्यसैले आम नगरिकले सरकारलाई गलत निर्णय गर्नबाट जोगाऔँ । सबैले भनौँ, ” भो हाम्लाई कुलमान चाहिँदैन !”
-सरोज घिमिरे
गौरादह-८, झापा ।

सराेज घिमिरेकाे फेसबुकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *